इटहरी । इटहरी खानेपानी संस्थाले इटहरी नगरको पुनर्निर्माणका लागि विशेष कोष निर्माण गर्न आग्रह गर्दै सो कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
एक विज्ञप्ति जारी गर्दै संस्थाले विभिन्न सरोकारवालाको सहभागितामा “इटहरी पुनर्निर्माण समिति” गठन गर्न र “पुनर्निर्माण कोष” स्थापना गर्न नगर सरकारसँग अनुरोध गरेको हो। उक्त कोषमा देश तथा विदेशबाट सहयोग संकलन गरिने र संकलित रकम इटहरीमा ध्वस्त भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा खर्च गरिने प्रस्ताव गरिएको छ।
संस्थाले इलाका प्रहरी कार्यालय इटहरी र ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माणका लागि क्रमशः ५–५ लाख रुपैयाँ र कोष निर्माणका लागि थप १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। दुबै कार्यालय हालैको आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। इलाका प्रहरी कार्यालयको भवन पूर्णरूपमा नष्ट भएको छ भने ट्राफिक प्रहरी कार्यालयमा समेत गम्भीर क्षति पुगेको छ। केही प्रहरीहरू अहिले तरहरा प्रहरी चौकीमा अस्थायी रूपमा बसेका छन्।
यसैबीच, नागरिक समाज इटहरीले सर्वपक्षीय छलफलको आयोजना गरेको छ। छलफलमा सहभागि सरोकारवालाहरूले इटहरीको शान्ति र सुरक्षाको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रहरी कार्यालय नभएको, झुम्का कारागारबाट सयौँ कैदी भागेको, भारतबाट आएका समूहहरूको आपराधिक गतिविधि बढेको भन्दै उनीहरूले तत्काल सुरक्षा संयन्त्र मजबुत पार्न जोड दिएका छन्।
भेलाले जलेको प्रहरी कार्यालयबाहेक अन्य उपयुक्त स्थानमा अस्थायी प्रहरी कार्यालय स्थापना गर्नका लागि पहल गर्ने निर्णयसमेत गरेको छ।


























Discussion about this post