इटहरी । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत बधाई दिँदै घिसिङले देश अझै गम्भीर मोडमा रहेकोले सबैसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । घिसिङले जेन-जी आन्दोलनको मागअनुरूप चुनाव सम्पन्न गर्नु उक्त सरकारको प्रमुख दायित्व भएको पनि स्पष्ट पारेका छन् ।
‘सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु’, घिसिङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ। देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडि बढ्नुपर्छ। जेननजी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो। सरकारलाई सफलताको कामना गर्दछु।’
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीको सिफारिसबमोजिम राष्ट्रपतिले शुक्रबार राति नै संसद् (प्रतिनिधि सभा) विघटन पनि गरिसकेका छन्। अब प्रतिनिधि सभाका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिएको छ।



























Discussion about this post