इटहरी डेस्क । पतञ्जलि भ्रष्टाचार प्रकरणमा ह्यात र याक एन्ड यतीका सञ्चालक अरुण सर्साफको ठेगाना नभेटिएको भन्दै विशेष अदालतले सार्वजनिक सूचना जार्न आदेश गरेको छ। आइतबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले म्याद तामेल नभएपछि सर्राफसहित ५ जनाको नाममा सार्वजनिक सूचना जारी गर्न आदेश दिएको हो।
ठेगाना नभेटिनेहरूमा सर्राफसहित गान्धीप्रसाद सुवेदी, शिवहरि शर्मा सुवेदी, नीता प्रधान र अमीत श्रेष्ठ रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।उनका अनुसार, यस प्रकरणमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा ८७ जनाको म्याद तामेल भइसकेको छ। उनीहरू मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित भएर बयान दिएर गइसकेका छन्। १ जना भने म्याद बुझेर पनि अदालतमा हाजिर भएका छैनन्।
अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले म्याद तामेल गर्न जाँदा अभियोग पत्रमा उल्लिखित ठेगानामा अभियुक्तहरू नभेटिएपछि नाम प्रकाशित गर्ने आदेश भएको जानकारी दिए। यसप्रकरणका मुख्य अभियुक्तहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह, पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायत केही व्यक्ति अदालतमा उपस्थित भइसकेका छन्। माधव नेपाल र शालिग्राम सिंह जनही ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। पूर्वमन्त्री प्रेमबहादुर सिंहले ५० हजार रूपैयाँ बुझाइसकेका छन्।

























Discussion about this post