इटहरी डेस्क । नेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
विधान अधिवेशनमा एमाले अध्यक्ष ओलीले भाद्र २० गते ११ बजे ललितपुरको गोदावरीस्थित सनराजइ हलमा समुद्घाटन गर्नेछन् । अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन्।
विधान महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि ८ वटा उपसमितिहरु निर्माण गरिएको बताइएको छ। केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूचि तयार गर्ने काम सम्पन्न भएको छ।
केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फॉट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन र केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन हुनेछ।



























Discussion about this post