इटहरी । भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न इन्डोनेसियाली नागरिक ३ जना अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। मुस्लिम धर्मको प्रचारप्रसारमा संलग्न भएको आरोपमा अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक महिलाले अध्ययन भिसा लिई नेपालमा भिसाको उद्देश्य विपरीत ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल राखी तीन जना इन्डोनेसियाली महिलाहरूलाई शिक्षकको रुपमा राखी टर्कीस र कुरान भाषा सिकाउने तथा मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको अध्यागमनले जनाएको छ।
टर्कीमा अवस्थित सहा एगीटम कुलटुर भी दुस्टुलुक डेरनेगी साह इन्टरनेशनल र यूकेको धर्म प्रचारक संस्थामार्फत प्रत्येक वर्ष २ करोड ५० लाख रुपैयाँ ल्याएर उनीहरूले यहाँ धर्म प्रचारकै काम गरेको अध्यागमनले जनाएको छ। इन्डोनेसियाका ती महिलामध्ये एकले पर्यटक भिसा र अन्य दुईले अध्ययन भिसा लिएका छन्। उक्त होस्टेलमा करिब ५० जना छात्राहरूलाइ कुरान पढाइराखेको समयमा अध्यागमन विभागका निर्देशकसमेतको टोलीले नियन्त्रणमा लिएको हो।
त्यहाँ पढ्ने ५० छात्राहरू अन्य कुनै पनि शैक्षिक संस्थामा अध्ययन गरेको नपाइएको विभागले अनुसन्धानपछि भनेको छ। यही समूहले ललितपुरको ज्वागलमा ब्वाइज होस्टेलसमेत चलाएको र त्यहाँ पनि कुरान पढाउँदै धर्म प्रचारको काम गरेको अनुसन्धानबाट खुलेको छ। यसबारे थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ। नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्नका लागि श्रम इजाजत लिएको हुनुपर्छ।
अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने तथा कब्जामा लिन सक्ने व्यवस्था छ। अध्यागमन नियमावली,२०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ।
यसै गरी विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाउँदैन। यसरी गैरकानुनी रुपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधी तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ।



























Discussion about this post