चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट खसेको ढुङ्गाले लागेर एक भारतीय ट्रकमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो करिब १ः३५ बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक पहिरोबाट ढुङ्गा खसेको थियो । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको केए–४३६८८५६ नम्बर प्लेटको भारतीय ट्रकमाथि ढुङ्गा बजारिँदा दुर्घटना भएको हो ।
घाइते हुनेमा ट्रक चालक भारत, बैंगलोरका मेगु प्रसाद, उनका छोरा सयद अफिद र सोही ठाउँका नहमान धुनियाँ रहेका छन् । प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले घाइते चालक मेगुको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था सामान्य रहेको जानकारी दिए । घाइते तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्रकलाई सडकको छेउमा लगाइएको छ र हाल सडक दुईतर्फी नै सञ्चालनमा रहेको खनालले बताए ।



























Discussion about this post