इटहरी । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।
जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो। उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो।
तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ। तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।
उनलाई गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। प्रसाईंविरुद्ध राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको थियो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा थुनामा थिए। सो आदेशविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन दिएका थिए।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेशको विस्तृत विवरण भने आउन बाँकी छ।प्रसाईं बिर्तामोड नगरपालिका–५ निवासी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक हुन्।
प्रहरीका अनुसार, १५ चैतमा भएको प्रदर्शन उनकै योजनामा भएको थियो।प्रहरीले प्रसाईंमाथि उच्छृंखल अभिव्यक्ति दिई भिडलाई उत्तेजित पारेको, निषेधित क्षेत्र तोड्न उक्साएको र सुरक्षाकर्मीलाई गाडीले किच्ने प्रयास गरेको आरोप लगाएको छ। उनी भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरी दाबी छ।



























Discussion about this post