इटहरीमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ : पुराना र नयाँ कलाकारहरूकाे जमकाभेट
- मंसिर १, २०८१ मा प्रकाशित
इटहरी । नेपाल र युरोपबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा चार दिने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ सुरु भएको छ । इटहरीको इलाईट सिनेमा हलमा आयोजित महोत्सवको उद्घाटन समारोह कार्तिक ३० गते साँझ ५ बजे सम्पन्न भएको थियो । उद्घाटन समारोहमा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
महोत्सवको पहिलो दिन हाल प्रदर्शनरत फिल्म ‘पुर्ण बहादुरको सारङी’का प्रमुख कलाकार विजय बराल, प्रेमगीत सिरिजका निर्माता सन्तोष सेन, वरिष्ठ अभिनेता प्रेम सुब्बा, १२ गाउँ फिल्मका लेखक तथा अभिनेता सन्तोष सरकार, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, सुनसरीका सिडिओ रामचन्द्र तिवारी र कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरूका लागि आकांक्षा कार्कीद्वारा निर्देशित नेपाली सर्ट फिल्म ‘सानै’ र भिक्टोर बोजिन्भो निर्देशित बुल्गेरियन फिल्म ‘झिगुली ब्याण्ड’ प्रदर्शन गरिएको थियो । आज मंसिर १ गते महोत्सवको दोस्रो दिन बिहान ११ बजे ‘पूर्वी नेपालमा नेपाली चलचित्र निर्माणका चुनौती र अवसरहरू’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिदैँछ । उक्त कार्यक्रममा निर्देशक तथा लेखक मनोज पण्डित प्रमुख वक्ताका रूपमा रहनेछन् । उनीसँगै कलाकार संगीता श्रेष्ठ र निर्देशक अरुण कुमार प्रधान वक्ताका रूपमा सहभागी हुनेछन् भने कार्यक्रमको सहजकर्ता मनोज दाहाल रहनेछन् ।
त्यसपछि १:३० बजे नेपाली सर्ट फिल्म ‘व्हिर्ल’ र युरोपियन फिल्म ‘लोला’, ३:४५ बजे नेपाली सर्ट फिल्म ‘लेट्स टक पिरियड’ र युरोपियन फिल्म ‘ला पिरोगुई’ तथा साँझ ६ बजे नेपाली सर्ट फिल्म ‘रातो पछयौरी’ र युरोपियन फिल्म ‘लम्ब’ प्रदर्शन गरिनेछ । त्यस्तै महोत्सवको तेस्रो दिन अर्थात मंसिर २ गते बिहान ११ बजे नेपाली सर्ट फिल्म ‘मखमली उडान’ र युरोपेली फिल्म ‘द स्ट्रेन्ज केस अफ ज्याकी कैल्यु’ प्रदर्शन गरिनेछ भने दिउँसो १:४५ बजे नेपाली सर्ट फिल्म ‘काठमाडौ मनसुन’ र युरोपेली फिल्म ‘स्कुल गर्ल’ र ४:३० बजे नेपाली सर्ट फिल्म ‘डिभिनेसन’ र युरोपियन फिल्म ‘मिस भिबोर्ग’ प्रदर्शन गरिनेछ ।
मंसिर ३ गते महोत्सवको अन्तिम दिन बिहान ११ बजे नेपाली सर्ट फिल्म ‘हावामेन’ र युरोपेली फिल्म ‘ले पेटिट निकोलस’ प्रदर्शन हुनेछ । त्यसपछि दिउँसो १:४५ बजे नेपाली फिल्म ‘द बुल, द काउ र द कल्फ’ देखाइनेछ भने अन्तिम शो साँझ ५ बजे पुनः नेपाली सर्ट फिल्म ‘सानै’ र युरोपियन फिल्म ‘द नकेड ट्रुथ अबाउट झुगिली ब्याण्ड’ प्रदर्शन हुनेछ । यो चलचित्र महोत्सवको व्यवस्थापन कपिल पराजुली र चन्दा दाहालले गरेका छन् भने स्थानिय सहयोगी सुवास संकल्प श्रेष्ठ र बिकल रेग्मीले गरिरहेका छन् । नेपालस्थित युरोपियन युनियनको कार्यालयले आयोजना गरेको यो महोत्सवले नेपाली र युरोपियन चलचित्रबीचको आदानप्रदानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
Comments