•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:46:11 AM

मोरङको कटहरीमा भदाै २७ देखि कृषि एक्स्पो, आधुनिक खेती प्रवर्धन गर्न प्रविधि प्रदर्शनी

- भाद्र २५, २०८१ मा प्रकाशित



इटहरी । किसानहरुलाई कृषि प्रविधि र आधुनिक खेतीका बारेमा जानकारी गराउने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा कृषि, उद्योग तथा पशुपंक्षी प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि प्रदर्शनी आयोजना गर्न लागेको हो ।
किसानहरुलाई आधुनिक खेती तथा पशुपालनतर्फ अग्रसर गराउन, कृषिमा आधारित उद्यमतर्फ लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न र कृषि उत्पादनहरुको बजारीकरण गर्न कृषि प्रदर्शनीले महत्वपूर्ण योगदान गर्ने महासंघको विश्वास छ । प्रदर्शनीमा कृषि प्रविधि र उपकरणको क्षेत्रमा भएको नवीनतम प्रगति र त्यसले उत्पादनमा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी गराउने योजना रहेको महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए ।

किसान अनुसन्धानकर्ता र नीति निर्माताहरुलाई एउटै थलोमा उपस्थित गराएर आपसमा अन्तरक्रिया गर्न, विचारहरु आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरु साझा गर्न प्रदर्शनी आयोजना गर्न लागेको अध्यक्ष राउतले बताए । प्रदर्शनीबाट उत्पादक, सेवा तथा पशुपक्षिको सम्भावित ग्राहक, लगानीकर्ता र वितरक सबैले व्यापार विस्तारको अवसर लिन सक्ने विश्वास लिइएको छ ।कृषि प्रदर्शनीबाट कृषि क्षेत्रमा लगानी प्रवद्र्धन र उद्यमशीलताको अवसरसँगै उत्पादनकलाई बजार र उपभोक्तासँग जोड्ने कार्यमा सहयोग पुग्ने आयोजले विश्वास लिएको छ ।

विराटनगरमा यसअघि हुँदै आएको व्यापार मेला तथा एक्स्पोहरु केबल मनोरञ्जनात्मक र आयोजकको आर्थिक लाभमा अधिक केन्द्रित हुने गरेकोमा यो कृषि प्रदर्शनी विशुद्ध कृषि क्षेत्रको उन्नयनमा ध्यान दिएर डिजाइन गरिएको छ । कृषि क्षेत्रमा नयाँ प्रयोग गरिरहेका र कृषि उत्पादन, बजारीकरण र प्रविधि प्रयोगमा सफलता प्राप्त गरिरहेकाहरु प्रदर्शनीमा सहभागी हुनेछन् । ‘यो प्रदर्शनीमा कृषि उत्पादक, पशुपालन, प्रविधि, उद्योग र बजार सबै एकै ठाउँमा भेला हुन्छन्, यहाँ मनोरञ्जनका कुनै कार्यक्रमहरु राखिएका छैनन् र कृषिको विकासका लागि सहयोग पुग्ने गरी सबै क्षेत्रलाई समावेश गरेर कृषि प्रदर्शनी हुनेछ,’ अध्यक्ष राउतले भने ।

भदौ २७ गतेदेखि ३० गतेसम्म चार दिन आयोजना हुने प्रदर्शनीमा दीगो खेतीको अभ्यास, वातावरण संरक्षण र पशु कल्याणका बारणमा अनुशिक्षणसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यस्तै प्रदर्शनीकै क्रममा कृषि र पशुपालनको विकासमा योगदान गर्ने किसान, पशुपालक र अनुसन्धानकर्ताहरुको उपलब्धी पहिचान गर्ने र पुरस्कृतसमेत गर्ने कार्यक्रम रहने बताइएको छ । एक्स्पोमा नेपाली तथा भारतबाट आउने विज्ञहरुले प्रस्तुतति तथा अनुभव आदानप्रदान गर्नेछन् ।

स्थानीय उत्पादन तथा सेवाको बजार प्रवद्र्धन गर्ने कृषक तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्ने, स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन र कृषि पेशालाई व्यवसायिक उन्मुख बनाउन सहयोग पुग्ने गरी प्रदर्शनी आयोजना गर्न लागेको महासंघले जनाएको छ ।कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा ३३ प्रतिशत योगदान गरिरहेको कृषि क्षेत्र र कृषिमा आधारित प्रशोधन उद्योग र कृषि उत्पादनको व्यापारसमेतको योगदानलाई प्रवद्र्धन गर्न प्रदर्शनी महत्वपूर्ण हुने अध्यक्ष राउतले बताए ।

एक्स्पोमा विभिन्न नयाँ प्रविधिका अतिरिक्त उन्नत जातका पशुपंक्षी, पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, पर्यावरण–मैत्री समाधानहरुको प्रदर्शनी, कृषि विज्ञसँग छलफल तथा सेमिनार, नयाँ नयाँ अनुसन्धान र परियोजनाहरुको प्रस्तुति, खेतदेखि भान्साको अनुभव र फुड फेस्टिबल क्रियाकलापहरु सञ्चालन गरिने बताइएको छ ।

कोशी प्रदेशमा धेरै उत्पादन हुने धान, तरकारी, आलु, मकै, अलैंची, अदुवा, आदि बाली र त्यसमा आधारित प्रशोधन उद्योगहरुको सम्भावना र अवस्थाका बारेमा पनि स्क्स्पोमा छलफल हुने बताइएको छ । त्यस्तै पशुपालन अन्तरगत दुध उत्पादन, मासु निर्यात आदिको सम्भावना खोजी गर्न पनि एक्स्पो प्रभावकारी हुने आयोजकको विश्वास छ ।

एक्स्पोमा १०० वटा विभिन्न स्टलहरु राखिनेछन् । कृषि औजार तथा यन्त्र, उन्नत तथा स्थानीय बिउबिजन, किटनासक तथा मलखाद, व्यावसायिक प्रविधि, कृषि उत्पादन तथा सेवा, उन्नत जातका पशुपंक्षी, भेटनरी औषधि तथा सेवा, अनुसन्धान तथा शैक्षिक संंस्था, सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, खाद्या वस्तु उत्पादक उद्योगहरुका स्टलहरु रहने छन् । करिब सबै स्टलहरु बुक भइसकेको आयोजकले जनाएको छ ।

विराटनगर र कटहरीको सिमानामा पर्ने हनुमान मन्दिर रोडमा रहेको कृषि थोक तथा खुद्रा बजार परिसरमा एक्स्पो आयोजना हुनेछ । एक्स्पोलाई कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले प्रायोजन गर्ने निश्चित गरेकोछ ।

Comments

सम्बन्धित खवर