•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:35 AM

सहारा दिने श्रीमती नै थला परेपछि जनयुद्धमा दुबै आँखा गुमाएका वली समस्यामा

- श्रावण १९, २०८१ मा प्रकाशित



दाङ । सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीको जनयुद्धमा दुई वटै आँखा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनु परेको थियो ।

वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गरे । शान्ता पनि वलीसँग बिहे गर्न तयार भइन् । दुःख सुख गरेर दिनचर्या चलेकै थियो तर एक महिना अघिदेखि श्रीमती शान्ता पनि थलिएकी छन् । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ ।

पेटको क्यान्सरका कारण थला परेकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभाव हुँदा उपचारमा नै समस्या भएको लालबहादुरले बताए । श्रीमती नै बिरामी परेपछि घरमा १७ वर्षीय छोरा र आफू साहाराविहीन भएको उनको दुःखेसो छ ।

वली परिवारको अवस्था नजिकबाट बुझेकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिइन् । ‘लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ’, बुढाथोकीले भनिन् ।

उनकानुसार अहिलेसम्म उपचारमा करिब रु १२ लाख खर्च भइसकेको छ, अझै रु १८ लाख खर्च हुने चिकित्सकले अनुमान गरेका छन् । सोहीअनुसार रकम जम्मा गर्न भने पनि वली परिवारसँग कुनै विकल्प छैन । ‘एक महिनाअघि श्रीमतीमा क्यान्सर भएको पत्ता लाग्यो, श्रीमान्को २०६० सालमै आँखा गुमिसकेका छन् । आम्दानीको कुनै स्रोत नभएपछि उहाँहरू समस्यामा हुनुहुन्छ । हामीले उहाँको उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गरिरहेका छौँ’, उनले सुनाइन् ।

आफूले काम गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै स्रोत नभएकाले उपचारमा निकै असहज भएको श्रीमान लालबहादुरले बताए । ‘पहिले मलाई स्याहार गरिन्, दुःखमा साथ दिइन् । परिवारको सहारा श्रीमती नै थला परेपछि अहिले हातमुख जोर्न पनि समस्या छ । भएको जायजेथा बेचेर, ऋण काँडेर भए पनि अहिलेसम्म १२ लाख जति खर्च भइसक्यो तर सञ्चो भएको छैन । आर्थिक अवस्थाले थप उपचार गर्नसक्ने अवस्था छैन’,  उनले दुःखेसो पोखे ।

Comments

सम्बन्धित खवर