•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:23 AM

सिनामंगल गेष्ट हाउसमा मृत भेटिएकाहरू युवा–युवती ‘दाजु–बहिनी’

- श्रावण १९, २०८१ मा प्रकाशित



भरत थाहै नपाई भारतबाट फर्किएका थिए, करिस्मालाई परेको थियो डीभी

काठमाडौं । काठमाडौँको सिनामंगलमा आज (शुक्रबार) दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजु–बहिनी भएको खुलासा भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमाडौँ महानगरपालिका–९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । भित्रबाट ढोका बन्द गरेर बसेको र होटलका कर्मचारीले बोलाउँदा नआएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले ढोका फोडेर हेर्दा उनीहरू दुवै मृत भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । घटनाको अनुसन्धान अगाडि बढाइसकेको एसपी अधिकारीले बताएका छन् । करिस्मा आफ्ना दुई भाइसँग काठमाडौंमा बस्दै आएको पाइएको छ । करिस्मा उनका कक्षा ६ र १२ मा पढ्ने दुई भाइको हेरचाहका लागि काठमाडौँमै बस्दै आएको उनकी काकी सरिता सार्कीले जानकारी दिएकी छन् ।

करिस्माले गाउँकै विद्यालयमा एसईई दिएको र त्यसपछि कक्षा ११ र १२ धनगढीमा पढेको सरिताले बताएकी छन् । परिवारका अनुसार करिस्मालाई यसै वर्ष अमेरिकाको डीभी परेको थियो । उनका बुबा अम्मरबहादुर सार्की रोजगारीका लागि मलेसियामा छन् । आमा पनि असार अन्तिमतिर उपचारका लागि भारत गएकी थिइन् ।

करिस्मा र भरत साउन १५ गतेदेखि नै उक्त गेस्ट हाउसमा बसेको सञ्चालकले जानकारी दिएका छन् । गेस्ट हाउसले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरू १५ गतेदेखि नै सँगै बसे पनि शुक्रबार बिहान खाना खान नआएपछि खोजी गर्दा बन्द कोठाभित्र मृत भेटिएका हुन् । भरत रोजगारीका लागि भारतको मुम्बईमा थिए । चार वर्षअघि मुम्बई गएका उनी गाउँ फर्किएका थिएनन् । अहिले उनी काठमाडौं आएको पनि परिवारलाई जानकारी नभएको खुलेको छ ।

भरत र सरिता नजिकका दाजु–बहिनी भएको र गाउँमा घर पनि तल र माथि रहेको उनीहरुको आफन्तले जानकारी दिएका छन् । उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि आफूहरुले घरमै उनीहरूलाई सम्झाएको र त्यसपछि मुम्बई गएको भरत गाउँ नफर्किएको उनीहरुको भनाइ छ । अहिले काठमाडौँ आएको पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताएका छन् । घटनाबारे जानकारी पाएपछि परिवारलाई खबर गरिसकेको वडाध्यक्ष गणेशबहादुर साउदले जानकारी दिए । सोही टोल घर भएकी त्रिवेणी नगरपालिका–४ की वडासदस्य अपेक्षा सार्कीले परिवारमा खबर आइसकेको र अहिले बाहिर रहेका आफन्तलाई बोलाउने काम भइरहेको बताएकी छन् ।

Comments

सम्बन्धित खवर