•  ३ आश्विन २०८१, बिहीबार
  •  3:53:23 AM

आफै बिब्यस अध्यक्ष रहेको स्कुलबाट ५० वर्षको उमेरमा १२ पास

- श्रावण १८, २०८१ मा प्रकाशित



मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् ।आज (शुक्रबार) प्रकाशित नतिजा  अनुसार खनालले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेका हुन् । ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए । अघिल्लो वर्ष उनले ११ पास गरेका थि ए। आफ्नै वडामा रहेको बालजीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका खनाल सोहि विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए ।

एसएलसी उत्तीर्ण भएपछि लामो समय पढाइ छाडेका खनालले विद्यालयको पढाइ सुधार्ने अभियानका साथै अधुरो पढाई पूरा गर्न उनी आफैं ११ कक्षामा भर्ना भएका थिए । ‘पढ्ने रहर हुँदाहुँदै पढ्न सकेको थिइन् । अहिले आएर पूरा गरेको हुँ । अब कसैले पढाइको बारेमा सोध्दा प्लस टु पास गरेको छु भन्न सक्ने भएको छु’, वडाअध्यक्ष खनालले खुशी व्यक्त गर्छन् ।

खनालका दुईवटै छोराले स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका छन् । उच्च शिक्षा अध्ययनको विषयमा भने निर्णय नगरेको बताउँदै खनालले परिवार र साथीभाइको सरसल्लाहपछि निर्णय गर्ने बताएका छन् । खनाल मनहरीको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष हुन् । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले वडा अध्यक्ष खनालको नतिजाले अरुलाई पनि हौसला र प्रेरणा मिल्ने बताउँछन् ।

Comments

सम्बन्धित खवर