•  १६ मंसिर २०८१, आईतवार
  •  12:15:15 AM

जैविक दर्शन पुस्तक जैविक तरिकाले लोकार्पण

- आश्विन ७, २०८० मा प्रकाशित



इटहरी : सुरुमा हिन्दु सनातन गुरुहरूले स्वस्ति वाचन गरे, त्यसपछि किरात गुरुहरूले थाल–ढ्याङ्ग्रो ठटाए, बौद्ध धर्मगुरु र प्रकृतिपुजक थारु समुदायका प्रतिनिधिले त्यसैमा साथ मिसाए । यसलाई ‘जैविक दर्शन’ पुस्तक ‘जैविक’ तरिकाले लोकार्पण गरेको भनियो ।

पुस्तक लोकार्पण गर्ने यो फरक प्रक्रियामा हिजो शनिबारका दिन किरात समुदायका ढकबहादुर राई, बसन्त राई, चित्रबहादुर राई, तीर्थ किरात, बौद्ध समुदायका लामा सोनाम तामाङ, थारू समुदायका तेजनारायण चौधरी, वैदिक सनातन समुदायका रमेश कोइराला, गोपाल घिमिरेलगायत सहभागी थिए ।

राम खड्काको सभापतित्वमा सङ्गीत साधना प्रतिष्ठान इटहरीको सभाकक्षमा आज आयोजित लेखक, चिन्तक मोहन तिम्सिनाको ‘जैविक दर्शन’ पुस्तक लोकर्पण समारोहका मुख्य आमन्त्रित कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ थिए ।

‘राजनीति गर्दै हिँड्ने क्रममा शुभेच्छुकहरूलाई राम्रा–राम्रा सपनाहरू देखाइयो । तर भनेका कुरा पूरा गर्न सकिएन । राजनीतिबाट मोहभङ्ग भयो । भनेको कुरा किन पूरा भएन भन्ने जिज्ञासाको खोजीका क्रममा शुभेच्छुकहरूको जबाफका लागि ‘जैविक दर्शन’ लेखियो,’ लोकार्पित पुस्तकबारे लेखक तिम्सिनाले भने ।

तिम्सिनाका अनुसार प्रचलित वादहरू भत्काएर ‘जैविक दर्शन’ नामक नयाँ संरचना निर्माण भए पनि शब्दले सत्य बताउन सक्दैन । अर्काले बुझाउँदा सूचनायुक्त कुरा थाहा पाउन सकिएला तर वास्तविक ज्ञान प्राप्त गर्न आफैँले खोज्नुपर्छ । जैविक दर्शन कुनै वाद होइन, एउटा दृष्टिकोण हो ।

‘जैविक दर्शन वैज्ञानिक क्रान्तिको दार्शनिक संस्लेषण हो,’ तिम्सिनाले थप भने, ‘उदारवाद, समाजवाद, साम्यवाद, राष्ट्रवाद, कल्याणवाद वा प्रजातान्त्रिक समाजवादजस्ता विचार अजैविक छन् । जैविक राजनीतिमार्फत जैविक समाज, जैविक राष्ट्र र जैविक विश्व स्थापना गर्नु नै अबको सामाजिक–राजनीतिक आन्दोलनको मूल कार्यभार हुनुपर्छ ।’

जैविक चिन्तन अभियानकर्मी तिम्सिनाको लोकार्पित पुस्तकबारे टिप्पणी गर्दै सहप्राध्यापक भेषजा काफ्लेले ‘जैविक दर्शन’भित्र अहिलेसम्म आफूले थाहा नपाएका धेरै विषय रहेको अनुभव सुनाइन् । ‘दर्शन मरिसक्यो भन्ने पदावलीबाट सुरू भएको यस पुस्तकमा प्रयुक्त पङ्क्ति–पङ्क्ति अर्थपूर्ण छन्,’ काफ्लेले भनिन्, ‘प्रकृति, जीवन र नियमलाई व्यवस्थित गर्ने अवधारणामा आधारित जैविक दर्शनले जे देखिन्छ त्योमात्र सत्य होइन भन्छ, वर्तमान सोचाइको क्रमभङ्ग गर्छ ।’

दुई सय वर्षअघि भौतिकवादले ईश्वरवाद पतनको घोषणा गरेको थियो । आजको दिनबाट हामी ईश्वरवाद र भौतिकवाद दुवैको पतनको घोषणा गर्दछौँ ।

कवि मनु मञ्जिलले लेखकले हालसम्म अनुत्तरित हाम्रा थुप्रै प्रश्नको जबाफ जैविक दर्शन पुस्तकमार्फत दिएको टिप्पणी गरे । ‘प्रकृतिसँग द्वन्द्व गर्ने होइन, प्रेम गर्नुपर्छ भनी द्वन्द्वतत्मक भौतिकवादविरुद्ध यो पुस्तकले वकालत गर्छ,’ उनले भने ।

प्राध्यापक बद्रीविशाल पोखरेल, नागरिक समाजका अगुवा राजु केसी, सहजकर्ता प्रज्ज्वल पराजुलीलगायतले इटहरीमा भौतिक संरचनामात्र होइन, सकारात्मक परिवर्तन गर्न आवश्यक मानवीय संशाधनसहित विचार र दर्शन उत्पादन गर्नसक्ने ल्याकत विकसित हुँदै गएको धारणा राखेका थिए ।

‘दुई सय वर्षअघि भौतिकवादले ईश्वरवाद पतनको घोषणा गरेको थियो । आजको दिनबाट हामी ईश्वरवाद र भौतिकवाद दुवैको पतनको घोषणा गर्दछौँ,’ लोकार्पण समारोहमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘जैविक दर्शनमात्र मानव जातिको चिन्तनको अन्तिम विकल्प हो । जैविक दर्शन पुस्तकले यही घोषणा गर्दछ ।’

Comments

सम्बन्धित खवर