•  ८ मंसिर २०८१, शनिबार
  •  2:55:59 PM

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी

- असार २४, २०८० मा प्रकाशित



जाजरकोट । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । जाजरकोटका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो ।

परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको बताए । पालिकाका कृषि शाखा प्रमुखबाट जनताले गरेका अपेक्षाका बारेमा जानकारी लिई भएका कामको सो अवसरमा समीक्षा समेत गरिएको छ । कार्यालयले ८६ दशमलव ४३ प्रतिशत काम भई लक्ष्य नजिक पुगेको उनले बताए ।

यसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटतर्फ बाख्रा ब्लक विकास कार्यक्रमअन्तर्गत ९५ दशमलव २४ प्रतिशत, सम्पूर्ण स्थानीय तहअन्तर्गत पकेट विकास कार्यक्रममा ८७ दशमलव ०९ प्रतिशत, जोन विकास कार्यक्रमतर्फ ८२ दशमलव चार प्रतिशत र कृषि विकास कार्यालय जाजरकोटबाट सञ्चालित विभिन्न ब्लकमा (तरकारी, स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रमअन्तर्गत ८१ दशमलव आठ प्रतिशत प्रगति भएको परियोजना प्रमुख पोखरेलले बताए ।

जिल्लामा यो कार्यक्रम लागू भएपछि हालसम्म १६ हजार सात सय ५४ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो आर्थिक वर्षमा मात्र एक हजार सात सय ९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले चारवटा विभागमध्ये तीन वटा (जोन, पकेट र ब्लक) विभाग चालु अवस्थामा रहेको बताएको छ ।

Comments

सम्बन्धित खवर