ताप्लेजुङकाे फुङलिङ बजारवासी एक साता देखि धमिलाे पानी पिउन बाध्य
- बैशाख ४, २०८० मा प्रकाशित
ताप्लेजुङ । केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ ।
दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता मारमा परेका छन् । कतिपयले नजिकका धारा कुवाबाट गाग्रोमा पानी बोकेर प्रयोग गर्दै आएका छन् भने प्रायले त्यही धमिलो पानी प्रयोग गरिरहेका छन् ।
“बिहान बेलुका लेदोसहित धमिलो पानी आइरहेको छ, नजिकै धारा, कुवा पनि छैनन्, त्यही धमिलो पानी प्रयोग गर्न बाध्य छौँ, स्वास्थ्यमा समस्या आउला भन्ने डर हुन थाल्यो”, फुङलिङवासी राजकुमार तामाङले भन्नुभयो । धमिलो तथा फोहर पानी आउने गरेकाले बजार क्षेत्रमा फाट्टफुट्ट धारामा गाग्रोसहित पानी भर्नेको भीड लाग्ने गरेको देखिन्छ । घर पायक धारा कुवा हुनेले पानी बोकेर प्रयोग गरे पनि टाढाकाले भने धमिलो पानी नै प्रयोग गर्न बाध्य छन् ।
यता उपभोक्ता समितिले भने मुहानमा घेराबारा गर्ने तथा सफा गर्ने काम भइरहेकाले पानी धमिलो आइरहेको बताएको छ । “केही दिनदेखि मुहानमा तार जाली लगाएर घेराबारा गर्ने, मुहान सफा गर्नेलगायत काम गरिरहेका छौँ, त्यसैले धमिलो पानी आइरहेको हो, अबको दुई दिनभित्रै काम सक्छौँ”, उपभोक्ता समितिका अध्यक्ष कमल गुरागार्इंले भन्नुभयो । उहाँका अनुसार धमिलो पानी ट्याङ्कीमा जान नदिन पाइपमार्फत कटाउने प्रयास गरे पनि विभिन्न ठाउँबाट चुहिने भएकाले समस्या आएको हो ।
ताप्लेजुङमा दुई मुहानको पानी सङ्कलन गरेर वितरण हुँदै आएको छ । फुङलिङ नगरपालिकास्थित बुङ्कुलुङ क्षेत्रमा रहेको देवी खोला र पाथीभरा याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङको गरी दुई ठाउँका मुहान प्रयोग भएका छन् । हाल देवी खोलाको मुहान सरसफाइ गर्ने काम भइरहेको हो । धमिलो पानीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या आइपर्ने भएकाले तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै बजारबासीले गुनासो गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments