इटहरी डेस्क । निजी मेडिकल कलेज सञ्चालकहरूले नर्सहरूलाई सरकारले निर्धारण गरेको तलब दिन नसकिने बताएका छन् ।पाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै नर्सहरूलाई सरकारी तलब स्केलअनुसार पारिश्रमिक दिन असम्भव भएको जनाएका हुन्।
उनले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा उल्लेख गरिएको छ, ‘नेपाल सरकारले दिएको सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रबार निजी कलेजहरूलाई पत्र पठाउँदै चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निर्देशन दिएको थियो । त्यसैको प्रतिक्रिया स्वरूप निजी मेडिकल कलेजहरूले आफूहरूको संरचना सरकारी संस्थाभन्दा पूर्ण रूपमा फरक भएकोले यस्तो पारिश्रमिक लागू गर्न सकिँदैन भन्ने अडान लिएका छन् ।
उनीहरूले निजी कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी अस्पतालभन्दा भिन्न भएकाले समान पारिश्रमिक लागू गर्न व्यावहारिक चुनौती रहेको जिकिर गरेका छन्। स्वास्थ्य मन्त्रालयले तोकेको पाँचौँ तहका स्वास्थ्यकर्मीहरूको तलब स्केल ३४ हजार ७३० रुपैयाँ छ भने वरिष्ठ पाँचौँ तहको तलब ३७ हजार ७४३ रुपैयाँ तोकिएको छ ।
हाल मणिपाल र गण्डकी मेडिकल कलेजका सयौँ नर्सहरूले सरकारले तोकेको तलबस्तर र सुविधा तुरुन्त कार्यान्वयन हुनुपर्ने, नर्सहरुको परिश्रम, मूल्य र पेसागत सम्मान सुनिश्चित हुनुपर्नेसमेतका माग राख्दै आन्दोलन गरिरहेका छन् ।




























Discussion about this post