इटहरी । हाँस्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलालाई जन्म दिनको अवसरमा भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनले बताएका छन् ।
आज (शनिबार) फेसबुकमार्फत दीपाश्रीको जन्मदिनका अवसरमा शुभकामना दिँदै गिरीले लेखेका छन्, ‘यस्ता अनेकौं प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बाबजुद निरन्तर आफ्नो कर्ममा लागेर प्रत्येक काममा अब्बलता प्रमाणित गर्ने तिमीलाई सर्वप्रथम सलाम छ ।’
दीपाश्रीको प्रसंशा गर्दै कवितात्मक शैलीमा उनले लेखेका छन्, ‘तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधाभन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बाँच्छौ, पीडालाई पोल्टामा राखेर पनि हाँस्छौ, काँडाहरू आफू लिने अरूलाई फूल दिने, खुशी सापट दिएर पनि भुल्दिने मेरो साथी छिन् ।’
समाज कति नै आधुनिकतामा अघि बढे पनि महिला र पुरुषबीचको मनोवैज्ञानिक भेदभाव अझै पनि रहिरहेको समेत गिरीले टिप्पणी गरेका छन् । महिलाको क्षमता र उपलब्धिलाई अझै पनि शंकाको दृष्टिले हेर्ने र व्यक्तिगत जीवनलाई बढी चर्चा गर्ने प्रवृत्तिप्रति उनले असन्तोष प्रकट गरेका छन् । गिरी र निरौला हाँस्यव्यंग्य क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै अघि बढिरहेका कलाकार हुन् ।




























Discussion about this post