इटहरी । इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयसँग पाँच वर्षे शैक्षिक सहकार्यको सम्झौता गरेको छ। क्याम्पसले भारतको हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे.जे.टी विश्वविद्यालयसँग शैक्षिक, अनुसन्धान र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेको हो।
बाबा मस्तनाथ विश्वविद्यालयसँग असार २४ गते र श्री जे.जे.टी विश्वविद्यालयसँग असार २५ गते सम्झौता गरिएको हो। सम्झौतामा क्याम्पसका अध्यक्ष विकास केसी खत्रीको नेतृत्वमा प्रमुख पदाधिकारी सहभागी थिए।क्याम्पस सञ्चालक समितिका अध्यक्ष खत्रीका अनुसार, सम्झौतासँगै अध्ययन, अनुसन्धान, युथ इनोभेसन समिट, डिजिटल शिक्षा सुधार, र नेपाल–भारत वार्षिक शैक्षिक सम्मेलन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।
जनता क्याम्पसले अबको तीन महिनाभित्र अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने योजना समेत बनाएको छ। यसका लागि बजेट जुटाउन स्थानीय सरकारसँग पहल भइरहेको छ।यस्तै, दुई वर्षको कार्यकालमा खत्री नेतृत्वको टिमले उल्लेखनीय उपलब्धिहरू पनि हासिल गरेको छ। सहायक प्रमुख इन्द्र प्याकुरेलद्वारा प्रस्तुत विवरण अनुसार, विद्यार्थीहरूको सुविधाका लागि ६ वटा नयाँ बस थपिएको छ, क्याम्पस परिसरमा भौतिक पूर्वाधार विस्तार गरिएको छ, र छात्रावास निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट करिब ५ करोड रुपैयाँ स्वीकृत भएको छ।
अहिलेसम्म क्याम्पसमा करिब ५ हजार ८ सय विद्यार्थी अध्ययनरत छन्। क्याम्पसले स्नातक, स्नातकोत्तर र प्लस टु तहका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।


























Discussion about this post