इटहरी डेस्क । सत्तारुढ दल नेकपा एमालेले आगामी जेठ १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।आइतबार बसेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।जनताका विरुद्धमा हुने कुनै पनि गतिविधि पार्टीका लागि स्वीकार्य नहुने पनि उनले बताए ।
‘जनताको विरुद्धमा हुने कुनै पनि गतिविधि नेकपा एमालेका लागि स्वीकार्य हुँदैन । गणतन्त्र जनताको अधिकारको रुपमा स्थापित गर्ने काम भएको छ । त्यसलाई अझै सबल र सुदृढ बनाउनुपर्छ भन्ने कुरा भएको छ,’ महासचिव पोखरेलले भने, ‘जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा देशव्यापी रुपमा मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रुपमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।’
पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले गरेको छ ।काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झांकिसहित गणतन्त्र दिवस उत्सवको रुपमा आयोजना हुने उनले बताए ।
‘काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा आयोजना गर्न नेपाल जनसांस्कृतिक महासंघलाई त्यस कार्यक्रमको संयोजन गर्नेगरी अघि बढ्ने । पार्टी कार्यालयबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ,’ महासचिव पोखरेलले भने ।यसअघि आजै पार्टीको एक प्रशिक्षणमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं एमालेले जेठ १५ गते नियन्त्रण गर्नुपर्ने बताएका थिए ।सोही दिन काठमाडौंमा राजावादी समूहले पनि प्रदर्शन गर्दैैछ ।
Discussion about this post