इटहरी । मोरङमा अभिभावकसँगै सुतिरहेकी बालिकाको शव घर नजिक फेला परेको छ । प्रहरीले बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेको छ ।
धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी छोरी ५ वर्षीया आत्तिका सरदारको हत्या भएको हो।अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका राति ३ बजेतिर बेपत्ता भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो । घरमा सुतिरहेकी बालिका हराएको जानकारी अभिभावक र आफन्तले बिहान ५ बजेतिर प्रहरी चौकी कर्सियामा गराएका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाहिर बाटोको छेउमा बालिकाको शव फेला परेको जानकारी दिइन् । घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि बालिकाको हत्या भएको देखाएको छ । यद्यपि, पुष्टि भइसकेको छैन ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोट रहेको अवस्थामा नाबालिकाको शव फेला परेको डीएसपी चुँडालले बताइन् । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरे जस्तो देखिन्छ । अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।


Discussion about this post