माेरङ । विगत एक वर्षयता नियमित योग प्रयोगशाला सञ्चालन गर्दै आएको जीवन विज्ञान पथरी शनिश्चरे नगर परिषद् र समग्र योग व्यवस्थापनको अपनत्व लिने संस्था पथरी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस भव्यतापूर्वक सम्पन्न भएको छ । एकाग्रता वृद्धिउन्मुख योगकर्मले मोरङको पथरीबाहेक पथरी शनिश्चरे नगरपालिकाभित्र विभिन्न ६ ठाउँमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । दैनिक योग अभ्यासले सञ्चालनमा ल्याएका यी फरकफरक ठाउँमा फरकफरक उद्देश्यअनुरुपका शीर्षकअन्तर्गत योग दिवस धुमधाम सम्पन्न भएको छ ।
स्थानीय योग साधक डिल्ली पराजुलीको सहजीकरणमा उपलब्ध सौन्दर्यसम्पन्न र औषधीजन्य ११ प्रजातिका वृक्षारोपण आरम्भ गर्दै पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेतले मानव सभ्यताको विकाससँगै विकसित योगमा आधारित दिनचर्याले सुदृढ मानवीय चेतना, प्रगाढ समवेदना, सहज जीवन जिउने कलाचेतनाको समेत विकास योगले गरेको विश्वास व्यक्त गर्नुभयो ।
गएको ३ गते आफ्नो ठाउँमै पहिलो वर्ष पूरा गरेसँगै भव्य उत्सव मनाइसकेका थियौँ । नियमित हुने योगको पूर्वाभ्याससँगै आज जुन २१ तारिख– योगका लागि विशेष दिन भएकोले योग दिवस मनाइएको प्रशिक्षक राधिका गुरागाइँ बताउनुहुन्छ । प्रकृतिप्रेमी मानिसलाई योगले प्रकृतिसँग जोड्ने काम गरेको उहाँको विश्वास छ ।
योग अर्थात् मानिसको शरीर, मन र सोचलाई जोड्नु हो । योगले शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासलाई एक ठाउँमा जोड्ने काम भएको पुष्टि हुने गरेको छ । योग र योगाभ्यासका सिद्धहस्त पारखीहरूको शरीर, मन र आत्मालाई एक ठाउँमा केन्द्रीकृत गर्ने बुझाइ रहेको छ । यो नै आत्मज्ञान हो, मोक्ष प्राप्तिको सरल उपाय हो– योग दिवसको अवसरमा शुभेच्छास्वरुप संवादका लागि उपस्थित साधक युवराज बास्कोटा भन्नुहुन्छ । उहाँले समग्र योग, संयुक्त राष्ट्र संघद्वारा पारित योगको संस्थागत विकासक्रम र प्रचलित केही अभ्यासबारे सम्बोधन गर्नुभएको थियो ।
मन्दिर लाइनस्थित श्री सिद्धेश्वर मन्दिर परिसरमा एक वर्षयता योग हुँदै आएको छ । यसपटक ११ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मन्दिर परिसरको सरसफाइसहित विभिन्न ११ प्रजातिका वृक्षारोपण गर्दै आज पर्न गएको योग दिवसलाई अत्यन्तै उत्साहपूर्वक सम्पन्न गरेको योग साधिका एवम् पथरी उद्योग वाणिज्य संघ पदाधिकारी राधा ढकालले बताउनुभयो ।
प्रशिक्षक मदन गुरागाइँ नियमित योगाभ्यासपछि आफ्ना अनुभवलाई बाँड्दै भन्नुहुन्छ– अशान्त मन, अनावश्यक तनाव, अनुचित चिन्ता, डिप्रेसन आदिलाई नियन्त्रणमा लिनुका साथै आत्मविश्वास बढाउँछ र आफू को हो भन्ने प्रश्नको उत्तरमा स्वयंमा खोज्न प्रेरित गर्दै आत्मबोध गराउछ । योग केवल शारीरिक व्यायाम मात्र होइन बरु यो परिस्कृत जीवनशैली हो । शरीरलाई सुदृढ राख्न, लचिलो बनाउन, पाचन क्रिया सुधार्न, रोगसँग लड्ने क्षमता बढाउन योगले धेरै काम गरेको छ ।
योग र योगाभ्यासको अभावमा समाजमा कटुता, तिक्तता, व्यक्ति स्वयंमा हिनता, हिंसा आदि बढ्दै जाने क्रममा सकारात्मक उर्जा सञ्चारको ठाउँ नकारात्मक अभिव्यक्ति र टिप्पणीले लिने गरेको छ । यसकारण मानिस स्वयंमा जागरण, इच्छाशक्ति, विवेक आदि वृद्धिका लागि योगलाई सर्वव्यापक गर्न आवश्यक रहेको औंल्याउँदै योगमा जोडिएपछि आफूमा पनि धेरै परिवर्तन आएको योग प्रयोगशाला नगर परिषद् सचिव राजु काफ्ले र वडा नं. ८ अवस्थित सोमबारे योग प्रयोगशालाका साधक प्रकाशबहादुर कार्की परस्परमा आफ्नो अनुभव आदानप्रदान गर्नुहुन्छ ।
आँधीहुरी जस्तोसुकै प्रतिकूलतालाई पनि छिचोल्दै हुने दैनन्दिनको योगाभ्यासलाई अग्रज डम्बरुबल्वभ गुरागाइँ, मदन गुरागाइँ, राधा गुरागाइँ, जानुका दाहाल आचार्य, गोमा दाहाल निरौला, छविलाल घिमिरे, रवीन्द्र अधिकारी, सन्तोष बस्नेत, शारदा बस्नेतसहितको दक्ष प्रशिक्षक पंक्तिले अनिवार्य तर आलोपालो सहजीकरण गर्दै आउनुभएको छ ।


Discussion about this post