इटहरी डेस्क । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव बेचबिखन भन्न नमिल्ने बताएका छन्।आज (बिहीबार) प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले जान चाहनेलाई पैसा लिएर पठाइएकाले मानव बेचबिखनसँग जोड्न आवश्यक नरहेको बताए। उनले भने, ‘यो पैसा लिएर पठाउने कुरा भएको हो । जान चाहनेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो। तर, तपाईंलाई लगेर मैले कहीँ बेचें, पैसा लिएर तपाईलाई कहीं पुर्याएर लाभ लिएँ भने पो मानव बेचबिखन हुन्छ त। जेलाई पनि मानव बेचबिखन भनिदिने ?’
उक्त विषय अनुसन्धानकै क्रममा रहेको र मुद्दा अभियोजन समेत नभएकाले कर्मचारी वा अन्य कसैलाई पनि दोषी किटान गर्न नमिल्ने समेत घिमिरेले बताएका छन्। अनावश्यक माग राखेर वेल घेराउसम्म पुगेकाले रास्वपालाई अडानबाट फिर्ता हुन गाह्रो भएको भन्दै उनले भने, ‘गृहमन्त्रीले मान्छे बेच्यो भनेर यस्ता बेतुकका कुरा गर्नु बेअर्थ छ। यो कुरामा उहाँहरू फस्नु भयो। उहाँहरूले अनावश्यक माग राखेर वेल घेराउसम्म पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि फिर्ता हुन गाह्रो भएको होला।’


Discussion about this post