इटहरी । सुनसरी। इटहरी उपमहानगरपालिका–६ मा आयोजना गरिएको ‘बाल मेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम’मा विभिन्न विद्यालय र बाल क्लबमा आवद्ध बालबालिकाले विविध प्रस्तुति मार्फत आफ्नो प्रतिभा देखाएका छन्। कार्यक्रम शुक्रबार वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो।
बालमैत्री नगर घोषणाको पूर्व तयारीस्वरूप आयोजना गरिएको कार्यक्रममा १० वटा निजी तथा सामुदायिक विद्यालयका बालबालिकाले नृत्य, कविता, गजल, वाद्यवादनजस्ता कला प्रस्तुति गरेका थिए। प्रतिभा प्रदर्शन गर्ने बालबालिकालाई प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गरिएको वडा कार्यालयले जानकारी दिएको छ।
कार्यक्रमका संयोजक तथा युवा स्रोत विकास तथा तालिम केन्द्रका निर्देशक निराजन खडकाले वडाभित्र बालबालिकाको अवस्था, बाल क्लब र टोल समिति तथा नगरस्तरीय बाल कार्यक्रमहरूमा बाल सहभागिताबारे विवरण प्रस्तुत गरे। उनका अनुसार वडामा ९७% पाँच वर्ष मुनीका बालबालिकाले जन्मदर्ता प्रमाणपत्र पाएका छन् भने ९९.८५% बालबालिका आधारभूत शिक्षामा संलग्न छन्। त्यस्तै, ५ वर्ष मुनीका ४२५ बालबालिकाले कुपोषणमुक्त खोप सेवा प्राप्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै आगामी बजेटमा बालबालिकासम्बन्धी कार्यक्रमका लागि थप बजेट विनियोजन गरिने जानकारी दिए। उनले वडामा रहेका विभिन्न बाल क्लब र सञ्जाललाई एकीकृत गर्दै यस्ता कार्यक्रमले उनीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा ८ सय भन्दा बढि बालबालिकाहरूकाे उपस्थिती रहेकाे थियाे भने ३ सय बढीले क्षमता अनुसारकाे कला प्रस्तुत गरेका थिए ।


Discussion about this post