इटहरी / पशुपक्षीसँग सम्बन्धित रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले बर्ड–फ्लु सङ्क्रमणले पुनः महामारी बन्नसक्ने तह पार गरिसकेको दाबी गरेका छन् ।
सर्वसाधारणले बुझ्ने भाषामा बर्ड–फ्लु भनिने एभिएन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति एच ५ एन १ अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ । यो एन्टार्कटिकाका पेन्ग्विन र मध्यपूर्वका उँटहरूमा पनि देखा परिसकेको छ । यो रोग अहिले अमेरिकाका सबै ५० वटा राज्यहरूका जङ्गली चरा र स्तनधारी जीवमा देखिइसकेको छ ।
रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धानकर्ताहरूले अमेरिकाका फार्म–हाउसहरूमा महिनौँदेखि लुकेर रहेका रोगले अर्को महामारी निम्तिने चेतावनी दिएका छन् । उनीहरूले अमेरिकामा बर्ड–फ्लुले अर्को महामारी बन्नसक्ने तह पार गरिसकेकोबारे सचेतसमेत गराएका छन् ।
बिबिसीका अनुसार अमेरिकामा अहिले बर्ड–फ्लु गोठहरूमा सरेर हजारभन्दा धेरै गाईबस्तुहरूमा पुगिसकेको अमेरिकी कृषि मन्त्रालयले जनाएको छ । अहिलेसम्म बर्ड–फ्लु ७० जना मानिसहरूमा देखिएको छ र यसले एक जनाको मृत्युसमेत भइसकेको छ । अमेरिकी महामारीविज्ञ तथा प्राध्यापक डाक्टर केट्लिन रिभर्स बर्ड–फ्लुको फैलावट रोक्ने अवसर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति जो बाइडन नेतृत्वको प्रशासनले गुमाएको टिप्पणी गर्छिन् ।
महामारीविज्ञहरू अमेरिकामात्रै नभई विश्व नै यसको नियन्त्रणका लागि आवश्यक रूपमा तयार नभएकोमा चिन्तित छन् । सन् २००३ यता एच ५ एन १ बाट सात सय जनाभन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तो सङ्क्रमण १५ देशका मानिसहरूमा देखिएको र यो प्रसार क्रम तीव्र रूपमा अघि बढिरहेको छ ।
Discussion about this post