हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा हिमबाढीको कारण बुुझ्न सरकारी टोली हुम्ला आइपुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली आज बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन्। टोली आजै प्रभावित क्षेत्रमा जाने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिएका छन्। विज्ञहरुको टोली हुम्ला आउने भनेर मंगलबार काठमाडौंबाट नेपालगञ्ज प्रस्थान गरेको थियो । ‘हिजो मौसमको कारणले नेपालगञ्जबाट आउन सक्नु भएन । आज बिहान आइपुग्नु भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘उहाँहरु आजै प्रभावित स्थलतर्फ जानुहुन्छ।’
जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिलगाउँमा क्षति पुगेको थियो । १८ घर परिवार बिस्थापित भएर पाल मुनि बसिरहेका छन् । करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुपधारण गरेको प्रारम्भिक अनुमान छ। स्थानीय आफैं पोखरीसम्म पुगेर बाढीको आउनुको कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा स्पष्ट हुन सकेको छैन । त्यसैले काठमाडौंबाट आएको विज्ञहरुको टोलीले त्यसको वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा छ ।
Discussion about this post