इटहरी डेस्क । सत्तारुढ नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औं राष्ट्रिय महाधिवेशनमा सोमबारबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ। अनेरास्ववियुको महाधिवेशन आइतबारबाट त्रिवि स्मृति भवनका सुरू भएको हो। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
उद्घाटन सत्र सकिएलगत्तै स्मृति भवनमै बन्द सत्र सुरू भएको थियो। जारी महाधिवेशनमा अध्यक्ष मण्डल गठन भइ राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेका छन्। यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको निवर्तमान अध्यक्ष समिककुमार बडालले जानकारी दिए। उनकाअनुसार दोस्रो दिनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरू भएको छ। आज प्रतिवेदनमाथि समूहगत छलफल सकेपछि पारितको कार्यसूची छ। त्यसलगत्तै नेतृत्व चयनको प्रक्रिया सुरू हुने उनले जानकारी दिए।
अनेरास्ववियुमा यस पटकदेखि ३२ वर्षे उमेरहद लाग्दैछ। उमेरहद लाग्दा निवर्तमान कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिने छन् । पाँच जना सचिव मात्रै बाँकी रहने छन् । सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई मात्रै बाँकी रहन्छन्। उनीमध्येलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ । अहिले पाँचै जनाले अध्यक्षको आकांक्षा राखेको अनेरास्ववियुका प्रतिनिधिहरूले बताएका छन्।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अखिलका वर्तमान र पूर्वनेताहरू बोलाएर सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर सहमतिको सम्भावना भने झिनो रहेको नेताहरु बताउँछन्। ‘हामीले आकांक्षी राखेर छलफल गरिरहेका छौं । सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्छौं । सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धामा जान्छ,’ निवर्तमान अध्यक्ष बडालले भने। अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र चार सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।
Discussion about this post