अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- कार्तिक १५, २०८१ मा प्रकाशित
म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।
तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए ।
तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। रघुगङ्गा गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर–७ को चिमखोलामा विद्युत गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ ।
मङ्गले राहुघाटको विद्युत गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । दुई वटै आयोजना निर्माणमा १३ अर्बभन्दा बढी लगानी हुने अनुमान गरिएको छ । अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।
यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पञ्चाङ्ग निर्णायक विकास समिति भन्छ : आज तिहारको कुनै पर्व छैन
-
ताजा कार्तिक १६, २०८१लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
Comments