•  ३ आश्विन २०८१, बिहीबार
  •  3:57:02 AM

गण्डकीमा एमालेले टुङ्गो लगायो चार मन्त्री

- भाद्र १७, २०८१ मा प्रकाशित



पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ । संसदीय दलका नेता खगराज अधिकारीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार भेटेपछि मन्त्री बन्ने सांसदको नाम टुङ्गो लागेको हो ।

नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की भएको स्रोतले जानकारी दिएको छ । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । आजै १ बजे शपथ गर्ने कुरा आएको एक मन्त्रीको स्वकीय सचिवले जानकारी दिए ।

प्रदेश प्रमुखको निवासमा आज १ बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी छ । पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । यसअघि आफ्नै गुटका सांसदलाई दुई पटकसम्म मन्त्री बनाएको भनेर दलभित्रै आलोचित अधिकारीले यो पटक अध्यक्ष ओलीले टुंगो लगाएका नाम लिएर पोखरा पुगेको बताइएको छ ।  कास्कीका भीम कार्की पृथ्वीसुब्बा समूहबाट मन्त्री बन्ने चर्चा थियो । तर, दल नेता अधिकारीले कास्कीबाट आफ्नो टिमका प्रकाशबाहेक अरूलाई मन्त्री बनाउन चाहेका थिएनन् ।

त्यसैले अध्यक्ष ओलीले फरक समूहको पनि प्रतिनिधित्व हुने गरेर पर्वतका पुराना नेता बस्याललाई मन्त्री बनाउने निधो गरेको स्रोत बताउँछ । मन्त्री बन्न लागेका चार जनामध्ये पद्मा जिसी श्रेष्ठ यसअघि खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्री बन्दा मन्त्री बन्ने सूचीमा थिइन् । तर, त्यतिबेला अधिकारीले पुरानै दुई मन्त्री दोहोर्‍याउँदा उनको नाम काटिएको थियो । २०४८ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा लागेर राजनीति सुरू गरेकी पद्मा संसदका सक्रिय महिला सांसदमध्ये एक हुन् । उनी नवलपुर २ (१)बाट निर्वाचित हुन् ।

अर्का सांसद मित्रलाल पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित हुन् । हालको प्रदेश सभाका ज्येष्ठ सदस्य उनी धौलागिरी क्षेत्रका एमालेका पुराना नेता हुन् । अर्का सांसद कृष्णप्रसाद पाठक अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल निकट हुन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् । बागलुङ अमलाचौरमा जन्मिएका पाठकले २०३१ सालमा नेकपा (मसाल) निकट विद्यार्थी संगठनमा लागेर राजनीति थालेका थिए ।

२०४१ सालमा मसाल छोडेका उनी त्यसपछि माले हुँदै एमालेको राजनीतिमा निरन्तर सक्रिय छन् । गण्डकीमा नौं मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई चार मन्त्रालय दिइएको छ ।

Comments

सम्बन्धित खवर