एजेन्सी । दक्षिणी भारतको तमिलनाडु राज्यमा एउटा राजनीतिक र्यालीमा भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको छ ।अभिनेताबाट राजनीतिज्ञ बनेका विजय थलापतिका लागि तमिलनाडुको करुर जिल्लामा आयोजित अभियानमा शनिबार भागदौड मच्चिएको थियो । उक्त कार्यक्रममा दशौँ हजार मानिस सहभागी भएका थिए ।
घटनामा घाइते भएका ९५ जनाको अस्पतालमा उपचार भइरहेको तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिलकुमारले बताएका छन् ।
समाचार संस्था पीटीआईका अनुसार शनिवार साँझ विजयले सभालाई सम्बोधन गरिरहँदा भिड बढ्न थाल्यो र नियन्त्रणबाहिर पुग्न गयो। कतिपय मानिसहरू बेहोश भएर ढल्न थाले र हल्ला मच्चियो।
त्यसपछि विजयले भाषण रोके र प्रचारप्रसारका लागि ल्याइएका बसबाट मानिसहरूका लागि पानीको बोतल बाँड्न थालियो।घटनाबारे छानबिनका लागि सेवानिवृत्त न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको छ।विजयले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। घटनाबाट आफू गहिरो पीडामा पुगेको उनले बताएका छन्।
घटनापछि उनले लेखेका छन्, ‘म असह्य पीडा र दुःखमा छु जसलाई शब्दमा वर्णन गर्न सक्दिनँ।’भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले घटनाप्रति दुःख प्रकट गर्दै भनेकी छन्, ‘म पीडित परिवारप्रति गहिरो संवेदनमा व्यक्त गर्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।’
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गर्दै लेखेका छन्, ‘मेरो संवेदना ती परिवारमा छ जसले आफ्नो परिवारका सदस्य गुमाएका छन्। यो कठिन समयमा उनीहरूलाई शक्ति मिलोस् र सबै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभ होओस्।’कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले पीडित परिवारहरूलाई सक्दो सहयोग गर्न आफ्नो पार्टीका कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।भारतमा घातक भागदौडका घटना बेलाबखत भइरहन्छ। यसै वर्ष पनि कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो ।



























Discussion about this post