•  १२ बैशाख २०८१, बुधबार
  •  9:03:45 AM

धमाधम प्रविधिसँग जोडिँदै तेह्रथुमका विद्यालय

- चैत्र १६, २०७८ मा प्रकाशित


तेह्रथुम: प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न थालेपछि तेह्रथुम जिल्लाका विद्यालयहरू डिजिटल प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको ग्रामीणस्तरमा रहेका विद्यालयहरूमा समेत पछिल्लो समय एन्टरनेट जडान भएपछि डिजिटल प्रविधिसँग जोडिएका हुन् ।

केही वर्षअघिसम्म कागजात पत्रमार्फत सम्प्रेषण गर्दै आएका विद्यालयहरू आफ्नै कार्यालयबाट इमेल गर्न थालेका छन् । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका चारवटा माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु भएको छ ।  प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु भएपछि शिक्षकका साथै विद्यार्थीहरूलाई समेत पठनपाठनमा सहज भएको छ । ई-एजुकेसनको माध्यमबाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उद्देश्यले ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु भएका छन ।

विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि पुस्तकमा नभएका नयाँ नयाँका शैक्षिक सामग्रीको अध्ययन गर्नसमेत सजिलो भएको भगवती माध्यमिक विद्यालयमा कक्षामा अध्ययनरत विद्यार्थी निशा बाग्दासले बताइन् । उनी भन्छिन् ‘आफूले नजानेको कुराहरू गुगलमार्फत खोजेर पढ्न पाएका छौ । किताबमा नभएका शैक्षिक सामग्रीहरू पनि सजिलै पाइन्छ । डिजिटल प्रविधिसँगै इन्टरनेट जडानले शिक्षक नहुँदा पनि अध्ययन गर्न सजिलो भएको छ ।’ 

कक्षाहरूमा स्माटबोर्ड जडान गरी अध्यापन गर्दै आएको विद्यालयहरुले जनाएका छन् । स्मार्ट बोर्डहरूमा नेट जडान भएकाले सचित्र पठनपाठन गर्दै आएको भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक श्रीमान बस्नेतले बताए । ‘विद्यालयमा डिजिटल कक्षा सुरु भएपछि विद्यार्थी र शिक्षक दुवैलाई पढ्न पढाउन सहज भएको छ । शिक्षक नहुँदा पनि विद्यार्थीहरूलाई आफ्नो विषयवस्तुलाई सहजै रूपमा पढ्न पाउने गरेका छन । स्मार्टबोर्ड र स्मार्ट टिभी जडान गरी सबै कक्षामा डिजिटल कक्षा सञ्चालन गर्ने तयारीमा जुटिरहेका छौ,’ प्रधानध्यापक बस्नेतले भने ।

प्रविधिको विकाससँगै जिल्लाका विद्यालयरूमा कम्प्युटर जडान भएका छन् । कम्प्युटरको साथमा इन्टरनेट जडान गर्ने क्रम बढ्दो छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर