•  ११ आश्विन २०८०, बिहीबार
  •  1:10:46 PM

पल–समीक्षा विवाद : अडियो बाहिरिएपछि दुवैमाथि प्रश्न

- फाल्गुन १३, २०७८ मा प्रकाशित


नेपाली मनोरञ्जन क्षेत्र अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर तातेको छ। दुवैबीच भएको भनिएको अन्तरंग सम्बन्धलाई लिएर बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेका छन्। केही दिनयता त यी दुई कलाकारले विगतको सम्बन्धसँग जोडिएका अडियो भाइरल भइरहेका छन्। जसमा पलले केही साथीहरुसँग सहयोग लिएर समीक्षालाई फकाइरहेको र बिहेसम्मका कुरा गरेको सुन्न सकिन्छ।

 भाषा फेरिरहेकी समीक्षा

सांगीतिक क्षेत्रमा लामो यात्राको सम्भावना बोकेकी गायिका हुन् समीक्षा। सानै उमेरमा थुप्रै हिट गीत गाएकी समीक्षाले गायनमा संघर्ष पनि गर्नु परेन। १४ वर्षमै ठूलो ब्यानरको चलचित्र ‘नाई नभन्नू ल ५’ मा समावेश ‘बालापनको उमेर’ बोलको गीत गाएर चर्चा बटुलेकी समीक्षाले त्यसयता पछाडि फर्किएर हेर्नुपरेको छैन। उनी यो समयकी व्यस्त गायिकामध्ये एक हुन्। 

सांगीतिक क्षेत्रमा आएको दुई वर्षमै समीक्षाको क्रेज निक्कै लोभ लाग्दो गरी बढेको छ। थुप्रै संगीतकार र गीतकारको रोजाइमा पर्न सफल समीक्षा चलचित्र निर्माता/निर्देशकको पनि रोजाइकी गायिका हुन्। समीक्षाले गायनमा मात्रै आफूलाई सीमित राखेकी छैनन्। कलाको दायरा फराकिलो पार्दै म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। 

अनि विवाद…
गायनसम्म ठीकठाक रहेको उनको छवि अभिनय यात्रासँगै चर्चाको केन्द्रमा परेको छ त्यो पनि विवादमा जोडिएर। करिब १० महिनाअघि समीक्षाले अभिनेता पल शाहसँग स्क्रिन शेयर गरिन्। 

उनीहरुले ‘सुर्ती माड्दै’ बोलको गीतमा सँगै अभिनय गरे। समीक्षा पहिलेबाटै पलकी फ्यान थिइन्। त्यसपछि यी दुवैले केही समय सँगै काम गरे। समीक्षाले गाएका थुप्रै गीतमा पलले अभिनय गरे। पलले गरिरहेको सामाजिक काममा समीक्षाले पनि साथ दिइन्। पलसँगै उनले गरेका सामाजिक काममा सँगै देखा परिन्। 

पल र समीक्षाले थुप्रै टिकटकमा युगल जोडीका रुपमा प्रस्तुत भए। आफ्नो निकटता प्रस्तुत गरे। सम्बन्ध बढ्दै गएपछि समीक्षालाई मिडियाकर्मीले प्रश्न गर्न सुरु गरिसकेका थिए, ‘पलसँगको सम्बन्ध के हो?’ उनी जवाफ दिन्थिन्, ‘म उहाँको ठूलो फ्यान हुँ।’ तर सम्बन्ध छताछुल्ल हुने बेलामा फ्यान र स्टारको होइन, युवायुवतीको अन्तरङ्ग सम्बन्धका रुपमा बाहिरियो। 

सामाजिक सञ्जालमा उनीहरुको नाम जोडिएर चलेको चर्चामा यी दुवै केही समय मौन रहे। त्यसपछि दुवैले सामाजिक सञ्जालबाटै सम्बन्धबारे स्पष्टीकरण दिन थाले। त्यतिबेला समीक्षाले लामो फेसबुक स्टाटस लेखेर पलसँग नराम्रो सम्बन्ध नरहेको उल्लेख गरेकी थिइन्।उनले २०२१ अक्टोबर २४ मा पलसँग अभिभावक र चेलीको जस्तै सम्बन्ध रहेको आशयको लामो स्टाटस लेखिन। उनको उक्त स्टाटसपछि उनीहरुबीचको हल्ला केही समय साम्य भयो।

फेरि यही माघ पहिलो साता समीक्षाले त्यही स्टाटसको स्क्रिनसट राख्दै पलसँग असन्तुष्टि पोखिन्। सामाजिक सञ्जालबाटै यथार्थ बाहिर ल्याउने धम्की समेत उनले दिइन्।त्यसपछि सुरु विवादले मनोरञ्जन उद्योग तातेको छ। समिक्षा आफ्नै तरिकाले कहिले पलको समर्थन त कहिले विरोधमा उत्रिएकी छिन्। उनलाई पनि पुरानोदेखि नयाँ पुस्तासम्मका युट्युबरहरुले गिजोलिरहेका छन्। 

गतसाता मात्रै पुराना पत्रकार प्रकाश सुवेदीले समीक्षालाई पलसँगको सम्बन्धलाई लिएर निक्कै गिजोल्ने प्रयत्न गरे।उनले आफ्नो टीभी कार्यक्रममा बारम्बार पलको नाम लिएर सम्बन्धको पोयो फुकाउने प्रयत्न गरे। तर समीक्षाले बरु हिजो आफूले दुई सयका लागि दिनभर परिश्रम गरेको सम्झना गरिन्। १५ दिनमा कमाई हुने ५ सयका लागि हरेक बिहान गाई दुहुने र डेरी जाने गरेको कथा सुनाइन्। 

प्रकाशले पलसँगको सम्बन्ध सोध्दा समीक्षाले पीडा मिश्रित हाँसोसँगै खुशीका कुरा मात्रै सोध्न आग्रह गरिन्। उनको यो आग्रहमा ठूलो पीडा सजिलै देख्न सकिन्थ्यो। त्यसपछि पनि प्रकाशले पलको नाम जोडेर प्रश्न गर्न छाडेनन्।अहिले सामाजिक सञ्जालमा प्रकाशले समीक्षालाई बारम्बार पलबारे सोधेको भनेर टिप्पणी भइरहेको छ।सामाजिक सञ्जालमा एक नाबालिकालाई मिडियाको कठघरामा उभ्याएर आफ्नो दुनो सोझ्याउनु निन्दनीय भएको भन्दै बहस सुरु भएको छ। 

सामाजिक सञ्जालका प्रयोगकर्ताले कानुनले नै नाबालिकाको निर्णय क्षमतालाई आधिकारिक नमान्ने भएकाले यो उमेरमा राजीखुशीले यौनसम्पर्क गरे पनि बलात्कार ठहरिने भन्दै उनलाई आफू अनुकूल धारणा ओकल्ने प्रयास नगर्न आग्रह गरेका छन्।प्रकाशले लिएको यो अन्तर्वार्तापछि धेरैले मिडियाले लेखेको अतिरञ्जित समाचार पछि आत्महत्या गरेकी नायिका श्रीषा कार्कीलाई सम्झेका छन्। उनीहरुले कामना गरिरहेका छन् ‘समीक्षाको श्रीषाको नियति भोग्नु नपारोस्।’

तर, समीक्षाले सामाजिक सञ्जाल वा अन्तर्वार्तामा दोहोरो कुरा गर्न छाडेकी छैनन्। उनी कहिले फेसबुकमा अब यथार्थ खुलाउँछु भन्दै धम्कीपूर्ण स्टाटस लेख्छिन्। कहिले अन्तर्वार्तामा पलले आफूलाई भयंकर पीडा दिए पनि बोल्न नचाहेको भाव प्रकट गर्छिन्।प्रकाशसँगको कुराकानीपछि पनि एक युट्युब अन्तर्वार्तामा समिक्षा र पल सँगै देखिएका छन्। उक्त कुराकानीमा समिक्षा सम्पूर्ण रुपमा पलको पक्षमा देखिएकी छिन्। 

पलले आफूलाई निकै सपोर्ट गर्ने गरेको उनले उल्लेख गरेकी छिन्। पलसँग काम र सफलताको विषयमा सधैँ कुरा हुने गरेको बताएकी छन्। तर उनले बारम्बार पक्ष र विपक्षमा किन धारणा सार्वजनिक गरिरहेकी छिन् त? समिक्षा यस विषयमा बोलेकी छैनन्।यो घटनापछि एक युट्युबमा पलसँगै देखिएकी समीक्षाले पलसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएकी छिन्। उनले मिडियामा आफ्नो बारेमा आएका खबर आफूलाई नसोधी बनाएको समेत बताएकी छन्। 

त्यसलगत्तै समीक्षाको अडियो सार्वजनिक भएको छ। सार्वजनिक अडियोमा पलले आफूलाई पीडित बनाएको उनको भनाइ छ। उनले सुरुमा फकाएर माया देखाएर अहिले छोड्न खोजेको आरोप लगाएकी छिन्। उनले भनेकी छिन्, ‘पहिले माया गर्छु भन्दै पछि लागेर हेरचाह गर्दै मायामा फसाए। अहिले मसँग टाढा हुन खोजिरहेका छन्।’

पहिलो पटक पलको म्यूजिक भिडियो सुटिङमा पोखरा पुगेको क्षण सम्झँदै समीक्षाले पलकै प्लानमा निर्माण युनिटले आफूलाई सुटिङमा लगेको बताएकी छिन्। अडियोमा उनले पलसँगको पछिल्लो स्टाटसदेखि मिडियामा गसिपका रुपमा आएको मोडल कविता रायसम्मको झगडाको बिषयमा कुरा गरेकी छिन्।पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिपको आगो रंगिन नगरीमा दन्किरहेका बेला सार्वजनिक अडियोले थप बल दिएको छ। 

समीक्षालाई मेरै साथीले उचाले : पल
समीक्षासँगको सम्बन्धबारे लामो समय मौन पल शाह एक अनलाइनमा ‘प्ले ब्वाई’ भनेर आएको समाचारपछि बोल्न बाध्य भए। उनी समीक्षालाई लिएर उपस्थित भए। 

अन्तर्वार्तामा पल निक्कै दुःखी देखिएका छन्। समीक्षासँगको स्टाटस होस् अथवा मिडियामा आएको गसिप प्राय मौन रहने पलले आँखाभरी आँसु बनाउँदै आफ्नो करिअर ध्वस्त पार्न गिरोह नै सक्रिय भएर लागेको बताएका छन्। 

को लागिपरेको छ त पलको करिअर पछाडि? यो प्रश्नको जवाफ पनि समीक्षाले दिएकी छिन्, ‘उहाँको खुट्टा तान्नेले।’ समीक्षासँगको सम्बन्धलाई लिएर आएका प्रतिकृया हेरेर आफूलाई रुन मन लागे पनि कन्ट्रोल गरेर हिँडिरहेको पलले बताएका छन्। 

प्रमाण छन्
पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर चर्को विवाद देखिएको छ। गायिका अधिकारीले पलविरुद्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पल शाहले उनलाई कसैले उक्साएको बताएका छन्। उनीहरुसँगै देखिएको भोलिपल्ट समीक्षाको अडियो सार्वजनिक भयो। पलले बोलेका अडियो पनि सार्वजनिक भैरहेका छन्। 

अडियो सार्वजनिक भएपछि पलले लामो स्टाटस लेख्दै आफूलाई जोगाउने कोसिस गरेका छन्। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका हुन्।पलले सार्वजनिक भएको आवाज आफ्नो नरहेको बताएका छन्। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज आफ्नो आवाजसँग मिलेजस्तो भएपनि आफ्नो नभएको उनको भनाई छ। 

‘उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न–भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ’, उनी भन्छन्, ‘यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयास भएको छ।’

उनले आफ्नो करिअर सिध्याउन आफ्नै केही सहकर्मी लागेको बताउँदै त्यसको प्रमाण आफूसँग रहेको उल्लेख गरेका छन्। उनले समीक्षासँगको विवाद ठाडै अस्वीकार गदै पत्रकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। 

Comments

सम्बन्धित खवर