•  ८ बैशाख २०८१, शनिबार
  •  7:53:44 AM

जितेन्द्र रसिकले ल्याए ‘हनुमानको करामत’

- फाल्गुन ४, २०७८ मा प्रकाशित


काठमाडौं: बालसाहित्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथा उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझ्ने गरी सरल भाषा  र चित्रकोे प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँ पढुँ लाग्ने गरी कथा प्रस्तुत गरिएको छ । कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । 

कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरन्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाइ छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र रामबीचमा भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक साँस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्ने छैनन् उनीहरूले कथाभित्रै परापूर्वकालका घटनाहरूको ज्ञानसमेत राख्न सक्ने छन् ।

इर्टनल प्रकाशन प्रालिले प्रकाशन गरेको उक्त कृतिको आवरण चित्रकार प्रज्वल थापाको रहेको छ । विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी  पुस्तक रहेको  इर्टनल प्रकाशन प्रालिले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर