
रुपन्देहीमा मजदुरबीच झडप : एकको मृत्यु, तीन जना गम्भीर, १३ जना पक्राउ
- आश्विन २, २०८० मा प्रकाशित

रुपन्देही । रुपन्देहीमा गए राति मजुदरहरुबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । घटनामा तीन जना गम्भीर घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका–९ स्थित एक रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरुले आपसमा झगडा गर्दा घटना भएको प्रहरीले जनाएको छ । झडपको क्रममा धारिलो हतियार प्रहार हुँदा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिए ।
‘मदिरा सेवनपछि धारिलो हतियारसहित उनीहरुले आपसमा झडप गर्दा एक जनाको मृत्यु भएको छ,’ एसपी विकले भने, ‘घटनामा धारिलो हातियार प्रहारबाट अन्य तीनजना घाइते छन् । घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेका छन् ।’
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका ९ केरवानीमा विभिन्न पेटी ठेकेदारहरुसँग मजदुरी गर्दै आएका उनीहरु विश्वकर्मा पूजापछि साँझ मदिरासहितको भोजमा बसेका थिए । त्यसक्रममा उनीहरु आपसी झडपमा उत्रिँदा घटना भएको हो ।
झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते छन् । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।
‘घटनास्थलबाट एउटा चक्कु बरामद भएको छ,’ डीएसपी थापाले भने, ‘मृतक र घाइते तीनै जनालाई सोही चक्कु प्रहार भएको आशंका गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ मृतक स्याङतानको शव अहिले भैरहवा मेडिकल कलेजमै राखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
लोकप्रिय आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
लोकप्रिय आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
लोकप्रिय आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
लोकप्रिय आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
-
ताजा आश्विन ११, २०८०सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह
-
ताजा आश्विन ११, २०८०आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
-
ताजा आश्विन ११, २०८०‘जितिया’ पर्वमा बिदा दिन थारु समुदायको माग , ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी
-
ताजा आश्विन ११, २०८०अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने, त्याे कसरी ?
-
ताजा आश्विन ११, २०८०मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
Comments