•  १२ बैशाख २०८१, बुधबार
  •  4:00:47 AM

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी

- जेष्ठ १४, २०८० मा प्रकाशित


काठमाडौं । तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पिसिसीएल) लाई पत्राचार गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको लगानी बोर्डको ५४औं बैठकले सात सय ५६ मेगावाट उत्पादन क्षमताको परियोजनालाई पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनमा हालसम्म भएका प्रगति र समग्र स्थितिबारे पीसीसीएलको धारणा बुझ्न पत्राचार गर्ने निर्णय लगानी बोर्डको बैठकले गरेको हो । ‘तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ’, कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोजना अघि बढाउन चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड, नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ड एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र लगानी बोर्डको कार्यालयबीच २०७६ माघमा सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्ने भनिए पनि हालसम्म उक्त काम सकिएको छैन ।

लगानी बैर्डको ५४औँ बैठकले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता (पीडिए) स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने पनि निर्णय गरेको छ । ‘परियोजना विकासका लागि सतलज जलविद्युत् निगम लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग गरिने परियोजना विकास सम्झौता (पीडीए) को सहमतिको मस्यौदालाई स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

Comments

सम्बन्धित खवर