•  ६ बैशाख २०८१, बिहीबार
  •  3:59:35 AM

नक्कली शरणार्थी प्रकरण : कांग्रेस नेता केशव दुलालले बयान फेरेर एमालेहरुलाई मुछे, कांग्रेस बारेमा मौन

- जेष्ठ १०, २०८० मा प्रकाशित


काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके रहेका नेपाली कांग्रेसका नेता केशव प्रसाद दुलालले पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, खाण पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको लगायतको नाम लिएपछि तत्कालीन गृहसचिव पाण्डेले हिरासतबाटै खाणलाई चिठी लेखे ।

खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको पत्रमा भनिएको थियो, ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला । एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ ।’

उनै कांग्रेस नेता दुलालले बोलेको एउटा अडियोमा पनि सार्वजनिक भएको छ । त्यसमा स्पष्ट भनिएको छ, ‘गृह मन्त्रालयमा रहेको गृहमन्त्रीको गोप्य कोठामा ३० लाख, उनका सहयोगी नरेन्द्र केसीलाई ५ लाख दिएको छु । त्यस्तै सचिव टेकनारायण पाण्डेमार्फत १ करोड २४ लाख ५० हजार पनि मन्त्रीलाई दिएको छु ।’ खाणले उक्त रकम लिएको पुष्टि सचिव पाण्डेले पनि गरेका छन् । तर अन्तिममा दुलालले सरकारी वकिलको कार्यालयमा बयान दिने क्रममा पक्राउ परेका खाणको नामसमेत लिएनन् ।

ती पत्र पाण्डेले नै लेखेको फरेन्सिक जाँचबाट समेत पुष्टि भएको छ  । गत २७ वैशाखमा खाण र केसीलाई पक्राउ गर्ने क्रममै प्रहरीले ती पत्र बरामद गरेको हो । पाण्डे भने २० वैशाखमै पक्राउ परेका थिए । पक्राउ परेर बयान दिनुअघि त्यसरी उनले हिरासतबाटै पत्राचार गरेका हुन् ।

पाण्डेले पठाएका दुईमध्ये एक पत्र खाणले प्रहरीको हातबाट खोसेर च्यातिदिएकोमा त्यसलाई टेपले टाँसेर प्रहरीले सुरक्षित बनाएको छ । दोस्रो पत्र नरेन्द्र केसीबाट बरामद भएको हो । उनको घरबाट बरामद भएको अर्काे एक कागज भने खाणले च्यातेर चपाइदिएको प्रहरी दाबी छ ।

सुरुमा खाण, पाण्डे, खाण पत्नी मञ्जु खाण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको लगायतको नाम लिएका दुलालले पछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई मुछेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा ५८ औं दिन लामो अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदन सरकारी वकिलले अध्ययन नगर्दै प्रहरीकै उच्च अधिकारीहरुले सञ्चार माध्यमहरुलाई उपलब्ध गराएका छन् ।


को हुन् दुलाल ?

दुलाल तिनै मान्छे हुन्, जो यसपटक नेपाली कांग्रेसबाट गत आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए । दुलाल पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा थिए । दुलाल २०५७ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे ।
दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए ।

कांग्रेसमा प्रभावशाली नेताका रुपमा स्थापित भएका दुलालले गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदार दाबी गरेका थिए । टिकट नपाएपछि गत प्रतिनिधिसभा निर्वाचनमा उनले आफ्नै खर्चमा कांग्रेसका आधिकारिक उम्मेदवार सुनील शर्माविरुद्ध जयराज संयोगलाई बागी उम्मेदवार बनाएका थिए । स्रोतका अनुसार यो प्रकरणमा पक्राउपछि दुलालसँग नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले पटक–पटक जेलमा भेटेका थिए । दुलाल र अर्का नाइके सानु भण्डारीलाई दबाब दिएर एमाले बिरुद्ध बोल्न लगाइएको आरोप एमाले नेताहरुले लगाएका छन् ।

कांग्रेसका नेता मार्फत प्रहरीका सरुवा–बढुवादेखि सुन तस्करीसम्म

एमाले नेताहरु विरुद्ध वयान दिएका दुलाल कांग्रेस सरकारमा रहेको बेला सदाबाहर शक्तिमा रहेको अनुसन्धानबाट खुलेको छ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सचिव पाण्डेको मोबाइलबाट गृह मन्त्रालयमा भएका अन्य अवैध गतिविधिका विवरण पनि प्रहरीले फेला पारेको छ ।

ह्वाट्सएप च्याटमा बिचौलिया दुलाल र उनीबीच शरणार्थी प्रकरणमा आर्थिक लेनदेनका कुरा मात्र होइन, प्रहरी अधिकारीहरूको सरुवालगायतका विषयमा पनि छलफल भएको पाइएको हो ।

स्रोतका अनुसार दुलालले आफूनिकट नेपाल प्रहरीका एक एसपीलाई एसएसपीमा बढुवा गरिदिन भनेका छन् । त्यसबापत उनले ‘केही आर्थिक सहयोग पनि गर्ने’ उल्लेख गरेका छन् । सचिव पाण्डेले ‘हुन्छ’ भनेर जवाफ दिएका छन् । त्यति मात्र होइन, दुलालले विमानस्थलबाट सुन तस्करीको लाइन मिलाइदिन पनि आग्रह गरेका छन् ।

त्यसलाई पनि पाण्डेले अस्वीकार गरेका छैनन् । ‘प्रहरीले नमान्ने भएकाले गाह्रो हुने’ जवाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेले नै दुलालसँग आर्थिक लेनदेन गरेका थिए । आफूले एक करोड २४ लाख लिएर तत्कालीन मन्त्री बालकृष्ण खाणलाई बुझाएको उनले वयानमा भनेका थिए ।


अनुसन्धानमा नै प्रश्न

यसरी एकपछि अर्को अनेकौं प्रकरणमा कांग्रेसका उच्च नेताहरुसँग जोडिएका दुलालले वयानमा भने एमाले नेताहरुको नाम मात्रै मुछेका छन् । हिरासतमा रहेका तत्कालिन गृहसचिव पाण्डेले तत्कालिन गृहमन्त्री खाणलाई पत्र नै लेखेर दुलालको वयान फेर्नका लागि अनुरोध गरेका छन् ।

तर अहिले प्रहरीको अनुसन्धानमा खाण, पाण्डे र अडियोमा उल्लेख कांग्रेसका नेताहरुको नाम वयानमा उल्लेख नगरिएपछि एमालेका नेताहरुले अनुसन्धानको विश्वासनीयतामा प्रश्न उठाएका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काक्राचोरले काक्रा आफुले खाएर विया सोझा गाउले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’

Comments

सम्बन्धित खवर