•  ७ बैशाख २०८१, शुक्रबार
  •  6:40:34 AM

देशैभरी छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई नियमित खोप लगाइँदै

- बैशाख ३१, २०८० मा प्रकाशित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आइतबार) पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ ।

मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई नियमित खोप दिइँदैछ ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप अहिले लगाइँदै छ ।

मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गरेका छन् ।

मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन आग्रह गरेका हुन् । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।

Comments

सम्बन्धित खवर