•  ११ बैशाख २०८१, मंगलवार
  •  1:53:49 PM

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे

- बैशाख २७, २०८० मा प्रकाशित


ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो । 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ भेटी सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको वैशाख १ सम्म मात्र दुई करोड सात लाख १९ हजार ३०८ रुपियाँ सङ्कलन भएको हो ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार चालु आवमा सङ्कलन भएको भेटी अन्तर्गत पाथीभरामा भक्तजनले चढाएको रकमबाट एक करोड ५६ लाख ९७ हजार २४० रुपियाँ रहेको छ । यस्तै विभिन्न दाताको सहयोगबाट ११ लाख ३१ हजार ६७७ रुपियाँ, सिक्का सटहीबाट सात लाख ५० हजार छ सय रुपियाँ र भारतीय रुपियाँ (भारु) सहटीबाट सात लाख दुई हजार तीन सय रुपियाँ रकम सङ्कलन भएको जानकारी उहाँले दिनुभयो । 

उहाँका अनुसार बैङ्कमा मौज्दात (बचत) रकमको ब्याजबाट चालु आवभित्र वैशाख १ सम्ममा २४ लाख ३७ हजार ४९१ रुपियाँ सङ्कलन भएको छ । यता भेटी रकम सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँमध्येबाट चैत मसान्तसम्म ४८ लाख आठ हजार ९८५ रुपियाँ खर्च          (व्यय) भएको पनि कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । कर्मचारी तलबभत्ता, सुरक्षाकर्मी परिचालन, भेटी रकम सिक्का र भक्तजनले चढाएका अन्य धातुजन्य सामग्री व्यवस्थापन तथा ढुवानीमा खर्च भएको समितिले जनाएको छ ।

समितिका अनुसार पाथीभरामा तीन पुजारीसहित करार सेवामा १६ जना कर्मचारी कार्यरत छन् । कार्यकारी निर्देशकबाहेक सबै कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब सुविधा प्रदान गर्ने गरिएको छ । आन्तरिक स्रोतबाट हुने तलबभत्तामा मात्र मासिक चार लाख ११ हजार ६३० रुपियाँ खर्च हुने गरेको समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो ।

पाथीभरामा भक्तजनको आगमन जति बढी हुन्छ, सोहीअनुसार आम्दानी अर्थात् भेटी सङ्कलन पनि वृद्धि हुने गरेको समितिले जनाएको छ । यस वर्ष तीर्थयात्रीको उपस्थिति बढ्न थालेकाले भेटी सङ्कलन पनि वृद्धि हुनसक्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । 

Comments

सम्बन्धित खवर