•  ७ बैशाख २०८१, शुक्रबार
  •  11:42:46 PM

मणिपुरमा जातीय हिंसा भडकीयाे , ५४ जनाकाे मृत्यु, स्थिती नियन्त्रण बाहिर : नेपाली कती सुरक्षित ?

- बैशाख २४, २०८० मा प्रकाशित


काठमाडाैं । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् ।कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो ।

जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ ।

नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताउनुभयो । “चौबिसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन । कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन ।”

उहाँका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको सङ्ख्यामा नेपाली भाषीको बसोबास रहेको छ । उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्छन् । थोरैले राज्यको नोकरी पनि गरिरहेका छन् । नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ । तर, अहिलेसम्म नेपाली नागरिकहरू पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको विकले बताउनुभयो ।

पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आउनुभएको नेपाल यात्रु सेवाका सञ्चालक सुशील प्रधानले सीमावर्ती पानीट्याङ्कीबाट इम्फाल जाने कुनै पनि सवारी साधन नचलेको जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय नाका पानीट्याङ्कीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारी साधनको नियमित सेवा छ । साताको दुई पटकमात्र इम्फालका लागि पानीट्याङ्कीबाट यात्रुवाहक गाडी पाइने र सिधा यात्राको भाडादर प्रतिव्यक्ति भारु तीन हजार दई सय रहेको उहाँले बताउनुभयो ।

पूर्वोत्तर भारतको आसाम, मेघालय र नागालेन्डमा रोजगारी र घुमफिरका लागि नेपालीहरू बाक्लै जाने गर्छन् । तर, मणिपुर जानेको सङ्ख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताउनुभयो । “मणिपुरमा घुम्नलायक धेरै ठाउँ छैनन्, हिन्दू धार्मिकस्थल पनि छैनन्,” उहाँले भन्नुभयो, “कोहीकोही आफन्त भेटघाटका लागि र केही चाहिँ बर्माको सीमा हेर्न जाने गर्छन् । एकदमै थोरै सङ्ख्यामा त्यहाँको होटलमा रोजगारीका लागि नेपालीहरू जाने गरेको पाइएको छ ।”

मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ । त्यहाँका नेपालीहरू माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन् । आसामको गुवाहाटी र नागालेन्डको डिमापुर हुँदै रेल यात्रा गरेरसमेत मणिपुर पुग्न सकिन्छ ।

नेपालबाट मणिपुर जाने एकमात्र स्थलनाका काँकडभिट्टा नै हो । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताउनुभयो ।

नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरूले नेपाल प्रवेश गर्न पाउँछन् । “चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,” प्रहरी नायब उपरीक्षक भारतीले भन्नुभयो, “भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरूसँग पनि सम्पर्क भइरहेकै हुन्छ । उहाँहरूले पनि भारतमा कुनै समस्या भयो भने हामीलाई जानकारी गराउने चलन छ । अहिलेसम्म नेपालीहरू मणिपुर हिंसामा परेको कुनै जानकारी छैन ।”

Comments

सम्बन्धित खवर