•  ७ बैशाख २०८१, शुक्रबार
  •  10:56:49 PM

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

- बैशाख २२, २०८० मा प्रकाशित


बैतडी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।

टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उनले भने, ‘टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।’

टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, ‘अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना सङ्कलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।’
घट्नाबारे अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, ‘बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ । गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ ।’

Comments

सम्बन्धित खवर