
खाेटाङमा खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयले गरे बिराेध
- चैत्र १०, २०७९ मा प्रकाशित

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ ।प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् ।
कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नु पर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । ‘आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नु पर्छ’, उनले भने, ‘खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । साप्सुखोलामा त्यस्तो देखिनँ। यसले पर्यावरणमा असर पुगेको छ ।’
विसं २०७८ मङ्सिर १४ गते परीक्षण उत्पादन सुरु गरिएको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवर्द्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १० स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत् आयोजना) सँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।
साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईंले प्रवर्द्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए ।
‘ड्यामभन्दा मुनि खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ । आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु’, उनले भने, ‘प्रवर्द्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ ।’
कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाएका छन् । ‘ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ’, उनले भने, ‘सिडिओ साबसँग पनि कुरा भएको छ । अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छाैं ।’
करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments