•  १३ बैशाख २०८१, बिहीबार
  •  7:29:52 PM

जलवायु परिवर्तनको असर, सोलुमा मासिन थाल्यो स्याउ खेती

- माघ १८, २०७९ मा प्रकाशित


साेलुखुम्बु । नजाऊ युवा परदेशी हुनलाई, रेलको झ्यालमा बसेर रुनलाई ।कृषि ज्ञान केन्द्र सोलुखुम्बु कार्यालयको भित्तामा लेखिएका यी पंक्तिले युवाहरुलाई विदेश नजान आह्वान गर्छ । धेरै अघि लेखिएका यी हरफहरू अहिले मेल खान छाडेको छ ।

स्याउको उत्पादन राम्रो भएको बेला युवालाई स्याउ खेतीमा आकर्षित गर्ने उद्देश्यले यी हरफहरू लेखिएका थिए । तर, पछिल्लो समय हिमाली जिल्लामा स्याउको खेती घट्दो क्रममा छ । अहिले त किसानलाई प्रोत्साहन गर्ने सरकारी निकायले पनि स्याउ खेती नगर्न सुझाव दिन थालेको छ । हिमाली जिल्ला सोलुखुम्बु स्याउका लागि प्रख्यात मानिन्छ । पछिल्लो समय स्याउ खेती नै नगर्न कृषि ज्ञान केन्द्रले सिफारिस गर्न थालेको छ । जलवायु परिवर्तनका कारण उत्पादनमा गिरावट तथा स्वादमा समेत फरक पर्न थालेपछि कृषकलाई स्याउको विकल्प खोज्न भन्न थालिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बागवानी विकास अधिकृत चन्द्र फडेराले बताए ।

नेपालको मौसमको अवस्था हेर्दा पश्चिमभन्दा पूर्वमा धेरै पानी पर्ने गरेकाले पनि प्रदेश १ का पहाडी जिल्लामा स्याउको उत्पादनमा भारी गिरावट आउन थालेको हो । ‘बंगालको खाडी नजिक भएकाले पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्न थालेको छ,’ कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बागवानी विकास अधिकृत फडेराले भने ‘मौसम परिवर्तन भएकाले स्याउ ओखर लगायतका सुख्खा प्रजातिका फलफूल फस्टाउन छाडेका छन् ।’

बर्खामा कम पानी पर्ने र हिउँदमा हिउँ परेर सुख्खा हुँदा उत्पादन बढ्ने र खान पनि स्वादिलो हुने गरेको जानकारहरू बताउँछन् । पछिल्लो केही वर्ष यता भने बर्खामा धेरै पानी पर्ने हिउँदमा हिउँ नै नपर्ने गरेका कारणले पनि उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रको भनाइ रहेको छ । ‘मौसममा आएको परिवर्तनले वोटमा नै ढुसी आउन थाल्यो । दानामा पनि कालो खालको ढुसी आउन थाल्यो । ढुसीका कारण गुलियो पन नछिर्ने,टर्राे हुने, स्याउको कलर आउँदैन । हेर्दा पनि खाउँ–खाउँ नलाग्ने खालको फल्न थाल्यो’ फडेराले भने ।

पश्चिममा हिउँ धेरै परेर ‘चिलिङ आवर’ पुग्ने भएकाले उत्पादनमा कमी नआउने उनको भनाइ रहेको छ । स्याउका लागि फुल फुल्ने बेला तथा फल लाग्ने बेला सुख्खा मौसम चाहिन्छ । पछिल्ला वर्षहरू भने स्याउका लागि मौसम अनुकूल हुन छाडेको विज्ञहरू बताउँछन् । मुख्य कारण जलवायु परिवर्तनै भएको फडेराले बताए ।

प्रदेश १ का हिमाली जिल्लाहरूमा २० वर्ष अगाडिसम्म मज्जाले स्याउ फल्ने गरे पनि अहिले भने फलेको स्याउले पनि बजार पाउन छाडेपछि खेती नै मास्न थालिएको कृषकहरू बताउँछन् । विभिन्न रोगहरू पनि देखा पर्न थालेका छन् । बोटमा लेउ लाग्ने झ्याउ लाग्ने जस्ता रोगले आक्रमण समेत गर्न थालेको छ । सोलुखुम्बुकै किसान ज्याङवु शेर्पाले उत्पादन घट्न थालेपछि ३२ रोपनीमा लगाएको स्याउ काटेर दाउरा बालेको बताए । खाँदा पनि स्वादिलो नहुने गुनासो आएपछि हटाएर किवी खेती लगाएको उनले बताए । ‘स्याउको कलर बस्ने सिजनमा बंगालको खाडीको हुस्सु आएर घामलाई छेकिदिने गरेपछि हेर्दा पनि राम्रो देखिन छाड्यो,’ उनले भने ‘विक्री गर्न नै समस्या पर्न थाल्यो ।’ स्याउको विकल्पमा उनले किवी खेती गर्न थालेका छन् ।

स्याउ फल्न छाडेपछि ज्ञान केन्द्रले पनि किवी लगाउन सिफारिस गर्न थालेको छ । किबीलाई धेरै मात्रामा पानी चाहिने भएकाले त्यो खेतीका लागि मौसम अनुकूल भएको कार्यालयले जनाएको छ । व्यावसायिक स्याउ खेती गर्ने किसानलाई घाटा हुने गरेको कार्यालयको भनाइ रहेको छ ।
प्रदेश १ का सोलुखुम्बु ओखलढुङ्गा, खोटाङ, संखुवासभा तथा ताप्लेजुङको माथिल्लो क्षेत्रमा स्याउ हुने गरेको छ । ज्ञान केन्द्रले बिरुवा उत्पादन गरेर सस्तो मूल्यमा कृषकलाई दिने गरेको थियो । व्यावसायिक रूपमा नभई घरमा खाने गरी उत्पादन हुने गरी मात्रै बिरुवा उत्पादन भइरहेको कार्यालयले जनाएको छ । स्याउ खेती बारे बुझन गएका कृषकलाई खेती गर्दा लगानी उठाउन नै समस्या हुने भन्दै वैकल्पिक खेती गर्न सुझाव दिन थालेको उनले फडेराले बताए । जिल्लामा २३२ हेक्टर स्याउका लागि उपयुक्त मानिन्छ ।

सोलुखुम्बुका सल्लेरी, केरुङ, गोरा च्याल्सा, टाक्सिन्दु, गार्मा, तामाखानी, चौरी खर्क, बेनी, तिङ्ला, गोली, भकान्जे, क्षेत्रमा स्याउ उत्पादन हुने गरेको थियो । ९० वर्ष अघिदेखि सोलुमा स्याउ उत्पादन हुँदै आएको छ । ४० वर्ष अघि यहाँ स्याउको व्यावसायिक खेती सुरु भएको बताइन्छ । स्याउ खेती लगाउने कृषकहरु भने निराश हुन थालेका छन । डिलिसियस जातका रोयल, गोल्डेन र रेड जातका स्याउ खेती हुने गरेको छ भने लोकल जातमा पुजी जातको स्याउ पनि खेती गर्न समेत सिफारिस गर्ने गरेको छ । वातावरण क्षेत्रका विज्ञ दिपक खड्का मौसम परिवर्तनले असर गरेको बताउँछन । जलबायु परिवर्तनलाई खेलाँची रुपमा लिने गरेकाले मानव जीवनमा प्रत्यक्ष असर गर्न थालेको उनको भनाइ छ ।

Comments

सम्बन्धित खवर