•  १३ बैशाख २०८१, बिहीबार
  •  3:23:51 PM

विपी प्रतिष्ठान भ्रस्ट्रचार प्रकरण : मेसिन किनेको ६ वर्षपछि खरीदबारे छानबिन

- माघ १३, २०७९ मा प्रकाशित


धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब ६ बर्षअघि इआरपिसी मेशिन खरिद गरेर सञ्चालनमा आएको थियो । यो अत्याधुनिक मेशिनले अप्रेशन नगरी नै पित्तनलीमा अड्केको ढुंगा निकालेर उपचार हुन्छ ।

सञ्चालनमा आएको यतिका बर्ष बितिसक्दा अहिले भर्खर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मेशिन खरिदबारे छानबिन थालेको छ । जब की यो मेशिन एक पटक बिग्रेर पुनः मर्मत भएर अहिले पनि सेवा दिइरहेको छ । बुधबार दिउँसो करिब अढाई बजेतिर इटहरीस्थित अख्तियार कार्यालयबाट टोली वीपी प्रतिष्ठान आएको थियो । उक्त टोलीले इआरसिपी मेशिनको आवश्यक जानकारी लिनुका साथै मेशिनको स्थलगत निरीक्षण पनि गरेका थिए ।

रजिष्ट्रार डा.सुर्य संग्रौलाले अख्तियारको टोली केही बिषयमा स्थलगत निरीक्षणको लागी प्रतिष्ठान आएको पुष्टि गरे । तर आफु दिउँसो कार्यालयमा नभएको कारण के बिषयमा हो भन्ने जानकारी नभएको उनले बताए । रजिष्ट्रार संग्रौलाले भने, ‘म कार्यालयमा थिइनँ । २ बजेपछि अख्तियारबाट आउँदैछन् भन्ने जानकारी पाएको थिएँ ।’ प्रतिष्ठान स्रोतका अनुुसार अख्तियारको टोलीले इआरसिपी मेशिनको स्थलगत निरीक्षणसँगै आवश्यक कागजात पनि मागेर लगेको छ ।

त्यसबाहेक विगत ५ बर्ष यताको आय व्ययको विवरण र विद्यार्थी भर्ना तथा शुल्कको पनि विवरण लिएर अख्तियार टोली गएको स्रोतले जनाएको छ । अख्तियारबाट आएका अनुसन्धान अधिकृतले पनि इआरपिसी मेशिनबारे पहिला नै उजुरी आएको र गहिरोरुपमा अध्ययन गर्ने क्रममा स्थलगतरुपमा नै बुझ्नुपर्ने भएर प्रतिष्ठान आएको बताए । अख्तियारका ती अधिकृतले भने, ‘पहिला नै उजुरी भएकोले छानबिन चलिरहेको थियो । थप केही कुरा बुझ्नुपर्ने भएकोले वीपीमा नै गएका थियौ । डकुमेन्टहरु पनि माग्नुपर्ने भएकोले गएको हो ।’

Comments

सम्बन्धित खवर