•  १६ चैत्र २०८०, शुक्रबार
  •  8:16:11 AM

देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक

- माघ ९, २०७९ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) का लागि पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज (सोमबार) बिहान साढे ९ बजेपछि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् ।

कांग्रेसले केन्द्रीय समिति बैठक १५ गते बोलाइएको छ । आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको विषयले कांग्रेसमा असन्तुष्टि बढाएको छ । आइतबार मात्रै कांग्रेसको डा. शेखर कोइराला पक्षको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ । बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

बैठकमा डा. कोइरालाले बहुमतको आधारमा पार्टीको संस्थापन पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएको बताएका थिए । ‘मैले कार्यसम्पादन समितिको बैठकमा पनि विश्वासको मत दिनु हुँदैन भनेको थिएँ,’ कोइरालाले भने, ‘हामी मुख्य प्रतिपक्षको भूमिकामा बसौं । विश्वासको मत दिइसकेपछि हामी प्रतिपक्ष ठहरिन्नौं भनेकै थियौं । तर, त्यतिबेला बहुमतको निर्णय भयो । पार्टीमा हामी अल्पमतमा छौं त्यस्तो अवस्थामा पार्टीको ह्विप मान्नुको विकल्प थिएन ।’

त्यस्तै, कोइराला समूहकी सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्ने बताएकी थिइन् । ‘त्यत्रो गठबन्धन र सहकार्य छोडेर जाने प्रचण्ड जस्तो बेइमानी व्यक्तिलाई कांग्रेस जस्तो पार्टीले विश्वासको मत दिन सुहाउँथ्यो ?’ उनको आक्रोश थियो, ‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुप¥यो । होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ ।’

कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत राखेका थिए । तर, तत्काल पार्टीले हृवीप लगाएपछि उनीहरू पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य भएका थिए । संस्थापनइतर समूहको बैठकमा देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन् ।

Comments

सम्बन्धित खवर