•  ८ बैशाख २०८१, शनिबार
  •  5:43:53 PM

संरक्षणको पखाईमा धनकुटाकाे राजाताल र सिमालीबोट

- माघ ७, २०७९ मा प्रकाशित


धनकुटा । चौबीसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ ।

तर समय बित्दै जाँदा त्यसैको विपरीत उत्तिकै क्षेत्रफलमा रहेको राजातालको जमिन महँगिएपछि स्थानीयले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रवद्र्धन हुनसकेको छैन । यही राजारानी तालको नामबाट सो क्षेत्रको तत्कालीन राजारानी गाविस र हालको राजारानी बजारको नामकरण पनि रहिआएको छ । समय क्रमसँगै राजारानीमा भएको रानीतालको संरक्षण भए पनि त्यही रानीतालसँग जोडिएको अर्को राजाताल क्षेत्र र सो ठाउँको सिमाली बोटको संरक्षण हुनसकेको छैन ।

राजाताल क्षेत्र संरक्षण हुन नसक्दा दलदलको अवस्थामा रहेको छ । जाडोमा तुषारो पर्ने निकै चिसो लेकाली क्षेत्रमा रहेको यो राजातालको एक किनारको बीच दलदलमा औवल (गर्मी) ठाउँमा मात्र पाइने एउटा निकै ठूलो सिमाली जातको रुख रहेको छ ।

यो वनस्पति उक्त हावापानीमा नपाइने प्रजाति हो भने सो दलदलमा उक्त रुखमात्र रहेकाले स्थानीय यसलाई निकै आश्चर्य मान्ने गर्दछन् । सो राजातालको सिमालीको बोट र रानीतालबीच पौराणिक सम्बन्ध रहेको बताउनुहुन्छ वडाध्यक्ष आशीष लिम्बू । परापूर्वकालमा रानीताललाई मावारक र राजाताललाई पावरक भनिन्थ्यो । हाल पनि स्थानीयले यी स्थानलाई पुरानै नामले चिन्ने गर्दछन् ।

लिम्बू भाषामा पा र मा भनेको बुवा र आमा, वारक भनेको बस्ने ठाउँ । पूर्वकालमा रानीतालमा मावरक नाग र राजातालमा पावरक नाग बस्ने गर्दथे भन्ने किवंदन्ती छ । उनीहरूको एक दिन झगडा भएछ । झगडाका क्रममा मावरक नागिनले पावरक नागलाई टिपेर झट्टी हानिछन् (फ्याँकिछन््) । यसरी झट्टी हान्दा ती नाग हालको राजाताल (पावरक)मा झरेर गाडिएछन् । तीनै पावरक (बुवा) नाग सो सिमालीको बोट भएर उम्रिएको भन्ने किंवदन्ती रहिआएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । अङ्ग्रेजी अक्षर भि आकारमा रहेको राजा र रानीताल क्षेत्रको दक्षिणी क्षेत्रबाट पानी खोलिएर तराईतर्फ बगेर गएको छ ।

रानीतालको आधा भागमा बाँध बनाएर ताल बनाइए पनि राजाताल क्षेत्रमा भने दलदल र सिमसार नै रहेको छ । रानीतालजस्तै राजाताल क्षेत्र पनि निजी भएकाले कतिपय भागहरूमा खेलमैदान र प्लटिङसमेत गर्न सुरु गरिएको छ । यो ताल क्षेत्रलाई बृहत् पर्यटकीय क्षेत्र बनाउन सहमति जुट्न नसकेको पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।

रानीताल संरक्षणका प्रवद्र्धनका लागि सहकारीमार्फत् काम गरिए पनि राजाताल संरक्षणका लागि स्थानीयसँग सहमति हुन नसकेको चेम्जोङले बताउनुभयो । गाउँपालिकाको प्रमुख केन्द्रका रूपमा रहेको राजारानी बजारलाई तीनतिरबाट घेरेको यो यी दुई तालमध्ये रानीतालको आंशिक संरक्षण भएको छ । यससँगै जोडिएको राजाताल र सिमाली बोटको संरक्षण हुनसके यहाँको पर्यटन प्रवद्र्धन हुने देखिन्छ ।

Comments

सम्बन्धित खवर