•  ७ बैशाख २०८१, शुक्रबार
  •  7:47:03 PM

ताप्लेजुङमा ३३ अर्बका दुई विद्युत आयोजना थपिँदै

- माघ ३, २०७९ मा प्रकाशित


ताप्लेजुङ । प्रदेश १ को ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको छ ।कम्पनीले विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयुसीएल)सँग सहकार्य गरेर आयोजना निर्माणका गर्ने योजना बनाएको हो । 

७७.५ मेगावाटको घुन्साखोला र ७०.३ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजनाका लागि इक्वीटीमा सहकार्य गर्न लागेको हो । यसका लागि ऊर्जा मन्त्रालयमा तीनै निकायबीच छलफल समेत भइसकेको छ ।

‘हामी आफैंले मात्रै निर्माण गर्न सक्दैनौं । फाइनान्सियल संस्था डेभलपर हुन सक्दैन । न हाम्रो त्यो बिजनेस हो, न त संस्थागत क्षमता नै छ,’ एचआइडीसीएलका एक अधिकारीले भने, ‘उहाँहरुले हाम्रो आयोजनामा लगानी गर्नुहुन्छ। हामी पनि उहाँहरुको आयोजनामा सहभागी हुन्छौं ।’ ती अधिकारीका अनुसार सेयर ‘डाइलुट’ गरेर पार्टनरसीपमा आयोजना अघि बढाउन लागिएको हो ।

‘स्वतन्त्र ऊर्जा उत्पादक (आइपीपी) सँग हामी सहकार्य गर्न सक्दैनौ। मूल्यांकन गरेर अक्सनबाट आइपीपीहरु ल्याउनुपर्छ । यो विवादास्पद काम हो । त्यस्तो काम हुँदैन,’ उनले भने, ‘त्यही भएर प्राधिकरण र भीयुसीएल रोजेका हौं ।’ उनले प्राधिकरणले निर्माण गरिरहेका आयोजना पनि सहकार्य गर्ने बताए । त्यसैगरी भीयुसीएलले निर्माण गर्न लागेको ४८० मेगावाटको फुकोट कर्णाली, ४५० मेगावाटको किमाथांका–अरुण जस्ता आयोजनाहरुमा समेत सहकार्य गरिने बताए ।

‘यसले रिस्क सेयरिङ एकातिर हुन्छ भने अर्कोतिर संस्थागत क्षमताको अनुभव फ्युजन पनि हुन्छ,’ उनले भने,’ कसले कति लगानी गर्ने भन्ने तय भइसकेको छैन ।’ अहिले यी दुई आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्वीटीबाट लगानी जुटाइने छ । ७० प्रतिशत ऋण बैंक तथा वित्तीय संस्थाबाट लिइनेछ। बाँकी ३० प्रतिशत इक्वीटीको ५१ प्रतिशत हिस्सा एचआइडीसीएलको हुने र त्यसमा बाँकी हुने ४९ प्रतिशत सर्वसाधारणले पाउने कम्पनीको प्रबन्धपत्रमा व्यवस्था छ ।

सर्वसाधारणका लागि तोकिएको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएकालाई र बाँकी २० प्रतिशतमध्ये आयोजना प्रभावित र सर्वसाधारणलाई आइपीओ जारी हुने उल्लेख छ । ‘२९ प्रतिशत इक्विटी वैदेशिक रोजगारीमा गएकाहरुबाट ल्याउन सक्छौं÷सक्दैनौं त्यो भोलिका कुरा भए । सकेनौं भने अर्को तरिकाले सोच्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘हाम्रो भागमा परेको ५१ प्रतिशतलाई चाहिँ प्राधिकरण र भीयुसीएलसँग पार्टनरसीप गर्न लागेका हौं ।’

उनका अनुसार यसरी इक्वीटीमा सहकार्य गरेपछि तीनवटै संस्थाको बोर्डमा प्रतिनिधित्व हुनेछ । ‘यसले एकातिर सिनर्जी ल्याउँछ अर्कातिर विश्वासको वातावरण पनि सिर्जना हुन्छ। भोली एचआइडीसीएलले भएका आयोजनाहरु बेच्यो भन्ने आरोप पनि लाग्दैन,’ उनले भने,’ प्रक्रिया अघि बढेको छ । हुनैपर्छ, त्यसको विकल्प छैन ।’ दुवै आयोजनाको गरी ३३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एचआइडीसीएल एक्लैले इक्वीटी नै ६ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अवस्था छ । त्यसलाइ तीन निकायबीच सेयर गर्न लागिएको हो ।

यी दुई आयोजनाको विद्युत खरिदबिक्री सम्झौता भएको नहुँदा निर्माणमा जान सकेका छैनन् । नेपाल विद्युत प्राधिकरणले कोटा सकिएको भन्दै साढे तीन वर्षदेखि पीपीए रोकेको छ । ‘हामीले प्राधिकरणसँग सहकार्य गर्दा यो उसको पनि आयोजना हुन्छ। पीपीए पनि हुन्छ,’ उनले भने,’पीपीए पनि एउटा कारण हो । कति समय आयोजना अड्काएर राख्ने त ?’

प्राधिकरणसँग सहकार्य गर्दा धेरै फाइदा हुने उनको भनाइ छ । ‘भोलि हाम्रा प्रोजेक्ट डाइरेक्टरले छाडे भने अर्को लिन ६ महिना लाग्छ । प्राधिकरणले सीइओ वा प्रोजेक्ट निर्देशक नहुँदासम्म फलानोले हेर्न सक्छ भनेर विकल्प दिन सक्छ । त्यो खालका अनुभवी मान्छे पनि त्यहाँ छन्,’ उनले भने ।

घुन्सा खोला ताप्लेजुङको घुन्सा खोलामा पहिचान भएको आयोजना हो । एचआइडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडले आयोजना अघि बढाउन लागेको छ । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । सिम्बुवाखोला जलविद्युत आयोजना ताप्लेजुङको सिम्बुवाखोलामा पहिचान भएको छ । यो आरओआर प्रकृतिको हो भने सिम्बुवा रेमिट हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको छ । यो पनि एचआइडीसीएलको सहायक कम्पनी हो । जलविद्युत दुवै आयोजना अध्ययनको काम पुरा भएको छ ।

Comments

सम्बन्धित खवर