•  १६ चैत्र २०८०, शुक्रबार
  •  9:39:40 PM

सुन्दरहरैचाकाे सामुदायीक बिद्यालयलाइ सांसद सुनिल शर्माकाे सहयाेग

- मंसिर २७, २०७९ मा प्रकाशित


 इटहरी । मोरङको सुन्दरहरैंचा ९ मा अवस्थित राम आधारभूत विद्यालयको अवस्था दयनीय छ । न्यून विद्यार्थी संख्या । शिक्षक दरवन्दीको अभाव । भवनहरु पुराना, कमजोर तथा जीर्ण छन् । खेलकुद तथा शैक्षिक सामग्री पर्याप्त छैनन् । पिउने पानीको अभाव छ । व्यवस्थित शौचालय छैन ।

अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति पनि कम छ । जाडो मौसममा न्यानो कपडाको अभावकै कारण धेरै बालबालिका विद्यालय नियमित आउँदैनन् ।

भर्खरै सम्पन्न निर्वाचनमा चुनाव प्रचार गर्ने क्रममा गाउँ गाउँ घुम्दा त्यस क्षेत्रका प्रतिनिधिसभा उम्मेद्वार शुनिल शर्माले विद्यालयको उक्त अवस्थाको विषयमा जानकारी पाए । भौतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक लगायत विविध पक्षको कमजोर अवस्था देख्दा उनको मन भक्कानियो । लगत्तै विद्यालय प्रशासनलाई भने, ‘मैले चुनाव जिते पनि, हारे पनि यो विद्यालयको शैक्षिक स्तर उकास्न सहयोग गर्छु ।’

नेपाली कांग्रेसबाट फराकिलो मतान्तरले उनले प्रतिनिधिसभा निर्वाचनमा विजयी हाँसिल गरे । जीत लगत्तै धेरै नेताहरु गाउँ फर्कदैनन् । जनतासामु गरेका बाचाहरु सर्लक्कै भुलिदिन्छन् । तर, शर्मा र उनको परिवारले त्यसो गरेन । निर्वाचन अघि पनि त्यस क्षेत्रका विपन्न र अशक्तलाई नोवल मेडिकल कलेजमा पूर्ण निशुल्क उपचारको व्यवस्था डा शर्माको पहलमा भएको छ । तिर्न सक्नेलाई अर्ध छुटमा व्यवस्था गरिएको छ । धेरै परिवारको उपचारमा सहयोग, अध्ययनमा सहयोग, रोजगारीमा सहयोग भएको छ ।

डा. शर्मा र उनको परिवारले राम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाको लागि प्रारम्भिक सहयोगको कार्यक्रम आयोजना गर्यो । निर्वाचन अघि बोलेका वाचाहरुलाई पुरा गर्दै जनपक्षिय काममा अहोरात्र सकृय रहेको उक्त परिवारले त्यहाँ अध्ययनरत १४० बालबालिकालाई न्यानो कपडाको सेट प्रदान गर्यो । सबै बालबालिकालाई पर्याप्त स्टेशनरीका सामग्रीहरु प्रदान भए । त्यस्तै, साना कक्षाका बालबालिकालाई बसाईमा सहज गराउन तीनओटा कक्षाकोठामा फर्मसहितको स्तरीय कार्पेटिङको व्यवस्था भयो । डा शुनिल शर्मा र उनको नेतृत्वको अस्पतालको तर्फबाट करिब ३ लाख बढिको सामग्री सहयोग स्वरुप प्रदान गरियो ।

बालबालिकाहरु पुलुकित भए । अभिभावकहरु हर्षित भए । न्यानो कपडा पाएसँगै बालबालिका नियमित विद्यालय आउने वातावरण बन्यो । ८५ छात्र र ५५ छात्रा रहेको उक्त विद्यालयमा आदिवासी र जनजाती समुदायका ७७ बालबालिका छन् । दलित समुदायबाट ४१, मुस्लिम समुदायका १९ बालबालिका छन् भने खस आर्य समुदायका ३ बालबालिका छन् ।

न्यानो कपडा, स्टेशनरी तथा खाद्य सामग्री वितरण कार्यक्रममा विद्यालयको तर्फबाट बोल्दै प्रधानाध्यापक दिलकुमार श्रेष्ठले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण विस्तार गर्न पहल गरिदिन आग्रह गरे । शर्माको परिवारको तर्फबाट पिता लोकनाथ न्यौपाने तथा आमा हुमादेवि न्यौपाने, काका घनेन्द्र न्यौपाने लगायतले भवन तथा शैक्षिक गुणस्तर विस्तारका लागि आफूहरुको तर्फबाट पहल रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सामुदायिक विद्यालय सुधार अभियानका तर्फबाट बोल्दै श्रीमन्त भट्टराईले समाजका सचेत, शिक्षित र सम्पन्न व्यक्तिले विद्यालय सुधारको लागि पहल गर्नु सकारात्मक रहेको धारणा व्यक्त गर्दै सामुदायिक विद्यालय सुधार हुन समाज सकृय रहनु अनिवार्य रहेको बताए । विद्यालय प्रशासनले १०–४ को जागीरे मानसिकता त्यागेर जिम्मेवारी पुरा गरेमा समाज विद्यालयमा जोडिन तयार रहने बताउँदै उनले भने, ‘सामुदायिक विद्यालयको सुधारका लागि समाजलाई सचेत, जिम्मेवार र जागरुक बनाउनुपर्छ ।’

कार्यक्रममा वडा अध्यक्ष राजु श्रेष्ठले विद्यालयको सुधारका लागि आफ्नो तर्फबाट पहल, प्रयत्न र सहयोग रहने प्रतिवद्धता जनाए । उक्त कार्यक्रमको सहजिकरण गर्नुहुने स्थानीय शंकर दाहालले आगामी दिनमा पनि विद्यालयको सुधार र सहयोगको लागि आफ्नो निरन्तर पहल र खबरदारी रहने बताए ।

Comments

सम्बन्धित खवर