•  ७ बैशाख २०८१, शुक्रबार
  •  10:33:58 AM

१५ वर्षीया बालिकाले आत्महत्या गर्न खाेजेपछि खुल्याे सामूहिक बलात्कारकाे रहस्य

- भाद्र २७, २०७९ मा प्रकाशित


धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे छ । गौरा पर्वमा देउडा हेरेर रमाइरहेकी बालिकालाई त्यही भिडमा रहेका चार जना युवकले नास्ता खाने भन्दै फकाएर बलात्कार गरेकाे खुलेकाे प्रहरीले जनाएकाे छ । 

२१ भदौकाे राति घोडाघोडी बजारमा देउडा भइरहेकै समयमा ती बालिकालाई एक युवकले काम छ भन्दै अलि पर पुर्‍याएका थिए । त्यसपछि एउटा कोठामा लगेर मदिरा सेवन गराएपछि युवकले अन्य तीन जना साथी समेतलाई बोलाएर बलात्कार गरेको खुलेकाे प्रहरीले जनाएको छ ।

बलात्कारपछि ती बालिकाले अभिभावकलाई घटनाबारे बताएकी थिइनन्, बरु आत्महत्याकाे प्रयास गरेकी थिइन् । मर्छु भनेर स्यानीटाइजर खाएपछि उनी बेहोस भएकी थिइन् । अस्पतालमा उपचारपछि उनकाे हाेस् खुल्दा बलात्कार भएकाे घटना बाहिर आएकाे हाे । चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाका तर्फबाट इलाका प्रहरी कार्यालय सुखडमा भदौ २३ गते जाहेरी दर्ता भएकाे छ । 

आरोप लागेका चार जनामध्ये तीन जनालाई प्रहरीले २४ गते नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय हिमाल सापकोटा सोही ठाउँका २० वर्षीय ऐशु सापकोटा र घोडाघोडी नगरपालिका वडा न २ का १८ वर्षीय बसन्त बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । तीन जना पक्राउ परे पनि एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको डीएसपी जोशीले बताए । 

Comments

सम्बन्धित खवर