•  १३ बैशाख २०८१, बिहीबार
  •  1:09:59 PM

दुर्घटना न्यूनिकरण गर्न ट्राफिकको सचेतना अभियान

- जेष्ठ १८, २०७९ मा प्रकाशित


इटहरी । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्लाभरी सचेतना अभियान सुरू गरेको छ । मोरङको प्रत्येक ट्राफिक पोष्टहरूमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकहरूलाई सचेतना अभियानमा सहभागि गराउने गरेको हो ।

विराटनगरको ट्राफिक चौकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित मोरङको २० वटा ट्राफिक पोष्टहरूमा ट्राफिक सचेतना अभियान सुरू गरेको मोरङका ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । सचेतना अभियानमा ट्राफिक प्रहरीले सडक शुसानदेखि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको उपायहरूको विषयमा जानकारी गराउने गरेको उनले बताए । ‘ट्राफिक नियमको पालना गराउँदै सवारी दुर्घटनलाई न्यूनिकरण गर्र्ने उद्देश्यले जिल्लाभरीमा ट्राफिक सचेतना अभियान सुरू गरेका हौं,’ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘ सिनियरदेखि जुनियर प्रहरी अधिकृतहरूले ट्राफिक सचेतनामा खटिएका छन् ।’

ट्राफिक सचेतना अभियान जिल्लाभरी एकसाथ सुरु गरेको उनले सुनाए । ‘सचेतनामा सहभागि भएका चालक र सहचालकहरूको अभिलेखीकरण पनि गर्ने गरेका छौं,’ उनले भने, ‘भोलीका दिनमा सचेतना कक्षमा सहभागि भएका चालक र सहचालकहरूले कतिको ट्राफिक नियमको पालना गरे वा गरेन त्यसको हामी निगरानी पनि राख्ने संयन्त्रको विकास गरेका छौं ।’ यसरी सडक शुसाशन र ट्राफिक नियमको बारेमा एक साथ सवारी चालक र सहचालकहरुलाई जानकारी गराउँदा दुर्घटना न्युनिकरण हुने अपेक्षा राखेको उनले भनाई छ ।

विराटनगरमा आवश्यक भन्दा बढी सिटी सफारीको कारणले सडक हस्तब्यस्त हुन थालेपछि यसको व्यवस्थापनको लागि ट्राफिक प्रहरीले छुट्टै अभियान सुरू गरेको छ । विराटनगर महानगरपालिका भित्र ४ हजार ५ सय सिटी सफारी रहेका छन् । ‘आवश्यक भन्दा बढी सिटी सफारीले गर्दा अहिले सडक अस्तब्यस्त विराटनगर बनेको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘त्यसको हामीले व्यवस्थापनको प्रक्रिया सुरू गरेका छौं ।’ अहिले यहाँका सफारी चालकहरूलाई दैनिक रूपमा ३० देसिख ५० जनासम्मको समूहलाई ट्राफिक नियम, सडक अनुशासनको बारेमा सचेतना गराउन सुरु गरिएको छ । विराटनगर महानगरपालिका भित्र सवारी चालकहरुलाई दैनिक बिहान ९ देखि ११ बजेसम्म प्रशिक्षण दिने गरिएको छ । उनीहरुलाई सुरक्षित सडक प्रयोग, ट्राफिक संकेत, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ मा रहेको कानुनी ब्यवस्थाहरु सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण दिइने गरेको छ । ३ पाङग्रे सवारी साधन संचालन, दर्ता प्रकृया लगायतका मापदण्डका बिषयमा पनि जानकारी गराइन्छ ।

उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्की, प्रहरी नायव निरीक्षक शिव कुमार शर्मा, विराटनगर महानगरपालिकाको नगर प्रहरी प्रमुख राजन पौडेल समेतबाट प्रशिक्षण दिने गरेका छन् ।

Comments

सम्बन्धित खवर